२०८३-आश्विन-०७ बुधवार

बिहानको ११:२५:२७

नेपाली कांग्रेस रोशीको सभापतिमा दिलदोर्जे लामा सर्वसम्मत

अशोक बुद्ध लामा असोज ०७, २०८३ १२७
नेपाली कांग्रेस रोशीको सभापतिमा दिलदोर्जे लामा सर्वसम्मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट दिल दोर्जे लामा तामाङ सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। यसअघि उनी सचिव पदमा कार्यरत थिए।

​अधिवेशनले उपसभापतिमा राज गौतम र रोजीना लामा, सचिवमा सुदिप बोम्जान तथा सहसचिवमा अमृत बललाई चयन गरेको छ। त्यसैगरी युवा सदस्यतर्फ कर्म सिं लामा, गान्दिव बुद्ध लामा तामाङ र मनिषा लामा, खुला–दलित सदस्यमा सुदिप विक तथा महिला–दलित सदस्यमा चन्द्रकुमारी विक सर्वसम्मत चयन भएका छन्।

​तत्कालीन गाउँपालिका सभापति दूधराज घलानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला सभापति तीर्थ लामा, नेपाली कांग्रेसका नेता गणेश लामा, जिल्ला सचिव गुणराज मुक्तान, प्रतिनिधिसभा–१ का क्षेत्रीय सभापति दिनेश लामा तथा प्रदेश सभा–२ का क्षेत्रीय सभापति चन्द्र लामा लगायतको उपस्थिति रहेको थियो। अधिवेशनमा रोशी गाउँपालिकाका १२ वटै वडाबाट आएका प्रतिनिधिहरूले समावेशी ढङ्गले नयाँ गाउँ कार्यसमिति सर्वसम्मत चयन गरेका हुन्।

​अधिवेशनका क्रममा संगठन सुदृढीकरण, पार्टीभित्रको एकता, सहकार्य र आगामी राजनीतिक गतिविधिबारे बृहत् छलफल गरिएको थियो। सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र आपसी एकता र सङ्गठनात्मक मजबुतीको सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

​नवनिर्वाचित सभापति दिल दोर्जे लामा तामाङले रोशीमा नेपाली कांग्रेसको संगठनलाई थप मजबुत बनाउँदै पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।