मेरो नजरमा कांग्रेस र अबको निकास
देशमा जहानियाँ राणा शासन फाल्ने आन्दोलनदेखि जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधान निर्माणको प्रक्रियासम्म नेपाली कांग्रेसको प्रमुख भूमिका रहँदै आएको छ। देशका महत्वपूर्ण राजनीतिक संक्रमणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको इतिहास छ।
अन्य पार्टीहरू जसरी उदाए पनि धेरैजसो खहरे खोला जसरी भेल बनेर आउने र समयसँगै सुक्दै जाने गरेको इतिहास सर्वविदितै छ। एमाले २०५१ र २०७४ सालमा सबैभन्दा ठूलो दल बनेको भए पनि २०४८ र २०५६ सालमा नेपाली कांग्रेसले स्पष्ट बहुमत ल्याएको इतिहास छ। त्यस्तै, २०७० र २०७९ सालमा कांग्रेस पहिलो ठूलो दल तथा २०७४ सालमा दोस्रो ठूलो दल बनेको इतिहास पनि हामीसँग छ।
#संक्रमणकालीन_अवस्थामा_निकास_दिने_पार्टी_कांग्रेस
जहानियाँ राणा शासन फाल्न बी.पी. कोइरालाले स्थापना गरेको नेपाली कांग्रेसले राणा शासन अन्त्य गरी प्रजातन्त्रको उदय गराउन महत्वपूर्ण भूमिका खेल्यो। २०४६ सालको जनआन्दोलनमा पनि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्यो र आन्दोलन सफल भयो।
त्यसैगरी, २०५२ सालदेखि भूमिगत रहेको माओवादीलाई तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। माओवादी अध्यक्ष प्रचण्डले नै गिरिजाप्रसाद कोइरालालाई अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए। त्यसपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा संक्रमणकालीन राजनीतिक प्रक्रिया अघि बढ्यो र संविधानसभा निर्वाचनसम्म देशलाई पुर्याउने काम भयो।
२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दलका रूपमा उदायो। तर पहिलो संविधानसभाले संविधान निर्माण गर्न सकेन र अन्ततः संविधानसभा विघटन भयो।
त्यसपछि २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भयो। दोस्रो संविधानसभाले संविधान निर्माण गर्यो र २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भयो। त्यसबेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसैले संविधान निर्माणको प्रक्रियामा कांग्रेसको नेतृत्वदायी भूमिका र सुशील कोइरालाको योगदानलाई पनि इतिहासले सम्झिनेछ।
अन्य पार्टी र कांग्रेस
मेरो नजरमा अन्य पार्टीहरू खहरे खोला जस्तै हुन्—केही समय ठूलो भेल बनेर आउँछन्, चर्चा र प्रभाव बढाउँछन्, तर समयसँगै कमजोर हुँदै जाने अवस्था देखिन्छ।
तर कांग्रेस बाँसको झाङजस्तो पार्टी हो। कुनै समय कमजोर र सुक्नेजस्तो देखिए पनि यसको जरा गहिरो छ। समयसँगै फेरि त्यही जराबाट नयाँ झाङ पलाउने सम्भावना रहन्छ। अहिले सरकारमा रहेका नयाँ शक्तिहरूको अवस्था पनि भविष्यमा त्यस्तै हुन सक्छ भन्ने मेरो बुझाइ हो।
#कांग्रेसको_वर्तमान_अवस्था_र_अबको_निकास
अहिले नेपाली कांग्रेस पनि संक्रमणकालीन अवस्थामा छ। एकातिर पार्टी सभापति गगन थापाले अधिवेशनको मिति तोकिसक्नुभएको छ भने अर्कोतिर पूर्वसभापति शेरबहादुर देउवा, शेखर कोइराला र शशांक कोइरालालगायतका नेताहरू समानान्तर अधिवेशन गर्ने वा अदालतको फैसला कुर्ने पक्षमा रहेको अवस्था देखिन्छ।
अब मुख्य प्रश्न भनेको—यदि अदालतको फैसला देउवाको पक्षमा आयो भने पनि, निर्वाचन आयोगले गगन थापालाई सभापतिका रूपमा मान्यता दिँदै अधिवेशन वा निर्वाचन प्रक्रिया अघि बढाइसकेको अवस्थामा त्यसबाट उत्पन्न हुने राजनीतिक तथा संवैधानिक प्रश्न कसरी समाधान गर्ने भन्ने हो। भइसकेको निर्वाचन प्रक्रिया र प्राप्त जनमतलाई मान्यता दिने कि नदिने भन्ने प्रश्न पनि त्यससँग जोडिन्छ।
खुसीको कुरा के छ भने पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित ३१ जना पूर्वकेन्द्रीय सदस्यहरू गगन थापाको नेतृत्वमा हुने कांग्रेसको अधिवेशनमा सहभागी हुने भएको खबर आएको छ। अब अधिवेशनसम्म सबै पक्ष सहमतिमा आउनु आवश्यक छ।
शेखर कोइराला र शशांक कोइरालाले पनि आफ्ना बुबा तथा काकाहरूले स्थापना गरेको पार्टी नेपाली कांग्रेसलाई छोडेर विद्रोहको बाटो रोज्नु हुँदैन भन्ने मेरो व्यक्तिगत धारणा हो। त्यस्तै, शेरबहादुर देउवाले पनि विगतमा कांग्रेसबाट अलग भएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेको इतिहास हामीले बिर्सनु हुँदैन।
आज आवश्यकता फेरि कांग्रेस फुटाउने होइन, कांग्रेसलाई एकताबद्ध बनाउने हो। व्यक्तिभन्दा पार्टी ठूलो हो, गुटभन्दा संगठन ठूलो हो र नेताभन्दा कांग्रेसको इतिहास, विचार र लोकतान्त्रिक विरासत ठूलो हो।
देश फेरि राजनीतिक संक्रमण र निकासको खोजीमा रहेको अवस्थामा नेपाली कांग्रेसले विगतमा जस्तै जिम्मेवार र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्छ। त्यसका लागि पहिलो आवश्यकता कांग्रेसभित्रको एकता, सहमति र लोकतान्त्रिक विधिको सम्मान हो।
कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक शक्ति कमजोर हुन्छ; कांग्रेस बलियो हुँदा लोकतन्त्रको संस्थागत आधार पनि बलियो हुन्छ।
अब कांग्रेसले विगतको इतिहासमा गर्व मात्र गर्ने होइन, वर्तमानको चुनौती बुझेर भविष्यको बाटो तय गर्नुपर्छ।
-लेखक नमनखबरका सम्पादक हुन्
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।