२०८३-आश्विन-०६ मंगलबार

बिहानको ११:२५:२७

काँडाबीचको जिन्दगी - संजय लामा

अशोक बुद्ध लामा असोज ०६, २०८३ १६
काँडाबीचको जिन्दगी
- संजय लामा

दुःखले मलाई कमजोर बनाएन, बरु संघर्ष गर्न सिकायो। जिन्दगीले पटक–पटक लडायो

दुःखले मलाई कमजोर बनाएन, बरु संघर्ष गर्न सिकायो। जिन्दगीले पटक–पटक लडायो। आफ्नै मान्छेहरूले कहिलेकाहीँ पराइझैँ व्यवहार गरे। विश्वास गरेका ठाउँबाट चोट पाएँ, आफ्ना ठानेकाहरूबाटै मन दुख्यो। तर हरेक चोटपछि एउटा कुरा सिक्दै गएँ—जिन्दगी अरूले बुझिदिन्छन् भनेर होइन, आफूले आफैँलाई सम्हालेर बाँच्नुपर्ने रहेछ।

कहिलेकाहीँ लाग्थ्यो, मैले सबैलाई मनदेखि माया गरेँ भने सबैले पनि मलाई त्यही माया फर्काउनेछन्। मैले कसैको दुःखमा साथ दिएँ भने मेरो दुःखमा पनि कोही उभिनेछ। तर समयले त्यो भ्रम पनि बिस्तारै तोडिदियो। आफ्नो दुःखमा आफैँ उभिनुपर्ने रहेछ, आफ्ना आँसु आफैँ पुछ्नुपर्ने रहेछ र भाँचिएको मन आफैँ जोड्नुपर्ने रहेछ।

अब कसैसँग गुनासो छैन। कसैले मलाई बुझेन भनेर दुःखी हुने मन पनि छैन। कसैले छोडेर गयो भनेर पछाडि फर्केर हेर्ने चाहना पनि छैन। किनकि समयले सिकाइसकेको छ—मान्छेहरू हाम्रो जीवनमा सधैँका लागि आउँदैनन्। कोही पाठ सिकाउन आउँछन्, कोही सम्झना छोडेर जान्छन् र कोही घाउ दिएर जान्छन्।

हाम्रो जिन्दगीको गोरेटो हामीले सोचेझैँ फूलैफूलले सजिएको रहेनछ। कतै सुगन्धित फूल भेटिए, कतै तीखो काँडाले पाइतालामै रगत निकाल्यो। कतै आफ्नोपनको न्यानोपन पाएँ, कतै आफ्नोपनकै नाममा चिसोपन महसुस गरेँ।

तर आज बुझ्दैछु—फूलले मात्र जिन्दगी बनाउँदैन रहेछ, काँडाले पनि जिन्दगीको अर्थ सिकाउँदोरहेछ। फूलले मुस्कुराउन सिकायो, काँडाले सहन सिकायो। सुखले बाँच्न सिकायो, दुःखले जीवन बुझ्न सिकायो। मान्छेले साथको अर्थ सिकाए भने एक्लोपनले आफ्नै अस्तित्वको मूल्य चिनायो।

अब मेरो जीवनको बाटोमा जस्तोसुकै कठिनाइ, काँडै–काँडा आए पनि म आफ्नो बाटो बदल्ने छैन। किनकि धेरै हिँडिसकेँ, धेरै सहिसकेँ। अब बाँकी यात्रालाई कसैको स्वीकृति, सहानुभूति वा साथको प्रतीक्षामा रोक्ने छैन।

जसले साथ दिन्छ, उसैलाई हृदयदेखि सम्मान गर्नेछु। जसले छोडेर जान्छ, उसलाई सम्झनाको एउटा कुनामा राखेर अघि बढ्नेछु। जसले चोट दिए, उसलाई दोष दिनुभन्दा त्यही चोटबाट पाठ सिक्नेछु।

अब न गुनासो छ, न कसैसँग हिसाब माग्नु छ, न कसैसँग आफ्नो मूल्य प्रमाणित गर्नु नै छ। किनकि समयले एउटा गहिरो सत्य सिकाएको छ—जसले तपाईंको मन बुझ्न चाहँदैन, उसलाई हजार शब्दले पनि बुझाउन सकिँदैन। र जसले तपाईंको मूल्य बुझ्छ, उसलाई कुनै प्रमाणको आवश्यकता पर्दैन।

त्यसैले अब जिन्दगीसँग कुनै गुनासो छैन। जे भयो, त्यसले मलाई बनायो। जे हुन सकेन, त्यसले मलाई सिकायो। जे चोट लाग्यो, त्यसले मलाई अझ बलियो बनायो। र जे बाँकी छ, त्यसलाई मुस्कुराउँदै जिउन चाहन्छु।

जिन्दगी फूलको बाटो मात्र होइन रहेछ, काँडाको बाटो पनि भेटिँदोरहेछ। तर काँडाले पाइतालामा घाउ बनाए पनि यदि मनमा जोस, जाँगर र हिम्मत अझै बाँकी छ भने यात्रा रोकिँदैन।

मेरो एउटै संकल्प छ—गुनासो होइन, अनुभव बोकेर अघि बढ्नेछु। अरूले जे सोचून्, आफ्नो आत्मसम्मान नछोडी बाँकी जिन्दगी आफ्नै ढंगले जिउनेछु। न कुनै चिन्ता, न कुनै डर—निस्फिक्री पाइला अगाडि बढाउनेछु।

— संजय लामा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–८, किर्दाश

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।