२०८३-श्रावण-२० बुधवार

बिहानको ११:२५:२७

मेरो जन्मभूमि, मेरो पहिचान किर्दाश

अशोक बुद्ध लामा साउन २०, २०८३ ११९
मेरो जन्मभूमि, मेरो पहिचान
किर्दाश

प्राकृतिक सुन्दरता र आत्मीयताको अनुपम गाउँ किर्दाश, हिमालको शीतल स्पर्श र हरियाली पहाडको काखमा, रोशी खोलाको मधुर सङ्गीतको बीचमा अवस्थित छ। यो मेरो प्रिय गाउँ काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ८ मा रहेको एउटा सुन्दर र शान्त बस्ती हो।

रोशी खोलाभन्दा करिब ८०० देखि १००० मिटर माथिको उचाइमा रहेको यस गाउँमा पुग्नुअघि नै जङ्गलको बीचमा चिटिक्क परेको श्री देवीश्वरी विद्यालय देखिन्छ, जसको स्थापना २०४५ सालमा स्वर्गीय आदरणीय मामा कर्मसिं लामाको पहलमा भएको थियो। सोही विद्यालयको ठीक मुनि चिटिक्क परेको म्हाने र त्यसको पारिपट्टि किरगाङ टोलको छेउमा सुन्दर प्राचीन चैत्य र म्हाने रहेको छ। यो गाउँ केवल एउटा भौगोलिक स्थान मात्र होइन; यो मेरो जन्मभूमि, हाम्रो पहिचान, हाम्रो संस्कार र संस्कृति, र हाम्रो आत्माको धड्कन हो।

चारैतिर हरियाली वन, स्वच्छ हावा र मनोरम दृश्यले सजिएको यस गाउँमा पुग्ने जोकोहीले पनि आत्मीयता र शान्तिको गहिरो अनुभूति गर्दछ। यहाँका मानिसहरू मेहनती, मिलनसार र रीतिरिवाज, संस्कार, संस्कृति तथा परम्परालाई सम्मान गर्ने स्वभावका छन्।

किर्दाश गाउँको विशेष पहिचान भनेको यहाँ थोकर वंशका परिवारहरूको मात्र बसोबास हुनु हो। पुस्तौँदेखि आफ्ना परम्परा, संस्कार, संस्कृति र रीतिरिवाजलाई संरक्षण गर्दै आएका यस गाउँका पुर्खाहरू मेहनती, इमानदार, सहयोगी र सामाजिक सद्भावमा विश्वास गर्ने खालका थिए।

हाम्रो गाउँको सबैभन्दा ठूलो विशेषता भनेको धार्मिक सहअस्तित्व हो। बौद्ध धर्मप्रति आस्था राख्ने श्रद्धालुहरूका लागि यहाँ कुन्साङ लामाको अध्यक्षतामा सुन्दर गुम्बा निर्माण भएको छ। साइला लामाको अध्यक्षता, मेरो (सञ्जय लामाको) मुख्य भूमिका, मुख्य सल्लाहकार जयमान लामा, डा. मुक्तसिंह लामा, कुलमान थोकरलगायत सम्पूर्ण गाउँबासीको सहयोगमा म्हाने दुङ्ग्युर निर्माण भएको छ । यहाँ नियमित रूपमा लामा गुरुहरूबाट पूजापाठ, प्रार्थना तथा धार्मिक कार्यक्रमहरू सञ्चालन हुने गर्दछन्। त्यसैगरी गुम्बाको छेउमै सानो तर अत्यन्तै आकर्षक देवी मन्दिर पनि रहेको छ। यी धार्मिक स्थलहरू गाउँमा शान्ति, सद्भाव, सहिष्णुता र आपसी मेलमिलापको प्रतीक बनेका छन्।

किर्दाश गाउँ केवल बसोबास गर्ने स्थान मात्र होइन, यो धार्मिक तथा मानवीय आत्मीयता र सौन्दर्यको सुन्दर सङ्गम पनि हो। किर्दाश गाउँको मुख्य पर्व सोनाम ल्होछार हो, जुन गाउँलेहरू मिलेर हर्षोल्लासका साथ मनाउँछन्। त्यस अवसरमा लामा गुरुहरूबाट पूजापाठ हुन्छ, परम्परागत भेषभूषा, नृत्य, गीतसङ्गीत तथा शुभकामना आदानप्रदान गरिन्छ। आपसी भेटघाट र उत्सवले गाउँमा विशेष रौनक थपिन्छ। यस पर्वले पुस्तौँदेखि पुस्तासम्म हाम्रो संस्कृतिलाई हस्तान्तरण गर्दै समुदायलाई अझ सुदृढ बनाएको छ, र नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचानसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

किर्दाश गाउँमा सङ्गम लामाको मुख्य पहल र गाउँबासीको साथ तथा सहयोगमा स्वच्छ खानेपानीको राम्रो व्यवस्थापन भएको छ, जसले स्थानीयहरूको दैनिक जीवनलाई सहज र स्वस्थ बनाएको छ। प्राकृतिक स्रोतहरूको संरक्षण, सामुदायिक सहकार्य र विकासप्रतिको साझा प्रतिबद्धताले किर्दाशलाई व्यवस्थित र सुन्दर बनाएको छ। समयसँगै संसार बदलिँदै छ; शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा गाउँका धेरै युवा र महिलाहरू देश तथा विदेशमा पुगेका छन्, तर उनीहरू जहाँ पुगे पनि आफ्नो जन्मभूमिप्रतिको माया र प्रेम नै सबैभन्दा ठूलो शक्ति हो।

मेरो (हाम्रो) दायित्व केवल गाउँलाई माया गर्नु मात्र होइन, यसको मौलिकता, संस्कार, संस्कृति, रीतिरिवाज, भाषा, धर्म र धार्मिक सम्पदा तथा प्राकृतिक वातावरणलाई संरक्षण गर्दै भावी पुस्तालाई गर्वका साथ हस्तान्तरण गर्नु पनि हो। विकाससँगै हाम्रो पहिचान जोगाउनु नै हाम्रो साझा जिम्मेवारी र दायित्व हो। हामी सबै गाउँबासीको साझा प्रयासबाट हाम्रो मौलिक पहिचान, संस्कार, संस्कृति, रीतिरिवाज र सम्पदाको संरक्षण गर्दै आगामी पुस्तालाई अझ सुन्दर, व्यवस्थित र समृद्ध गाउँ हस्तान्तरण गर्न सकियोस् भन्ने मेरो हार्दिक चाहना हो।

आउनुहोस्, हामी सबै मिलेर किर्दाशको उज्ज्वल भविष्य निर्माण गरौँ। हाम्रो गाउँलाई शिक्षा, स्वास्थ्य, संस्कार, संस्कृति, रीतिरिवाज, स्वच्छ धार्मिक वातावरणको संरक्षण र सामाजिक एकताको उदाहरणीय गाउँको रूपमा स्थापित गरौँ। यही हाम्रो पुस्ताको सपना हो, र यही भावी पुस्ताप्रतिको हाम्रो उत्तरदायित्व पनि हो। हातमा हात, काँधमा काँध मिलाउने हो भने अवश्य हामी सफल हुनेछौँ।

किर्दाश केवल हाम्रो जन्मस्थान होइन; यो हाम्रो अस्तित्व, हाम्रो पहिचान र गौरव हो, जहाँ पुगे पनि मन सधैँ फर्किन खोज्ने पवित्र थलो, मेरो प्यारो जन्मभूमि किर्दाश गाउँ...।

सञ्जय लामा थोकर

काभ्रेपलाञ्चोक जिल्ला, रोशी गाउँपालिका वडा नं. ८, किर्दाश

हाल रोजगारीका लागि मलेसियास्थित पेनाङ

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।