तामाङ छोरीचेलीको मृत्यु संस्कारमा ‘चरतम’ : अन्तिम यात्रासम्म माइतीको सम्बन्ध
तामाङ समुदायको संस्कारले जन्मदेखि मृत्युसम्म मानिसको जीवनलाई धर्म, संस्कार, परम्परा, कुल, नातागोता र समुदायसँग जोडेर हेर्ने आफ्नै मौलिक परम्परा बोकेको छ। तीमध्ये मृत्यु संस्कार तामाङ समाजको अत्यन्त गम्भीर, भावनात्मक र धार्मिक महत्त्व बोकेको संस्कार हो।
काभ्रेपलाञ्चोकको तेमाल, रोशी तथा आसपासका तामाङ बस्तीहरूमा कुनै व्यक्तिको मृत्यु भएपछि परिवार मात्र शोकमा हुँदैन; आफन्त, माइती, छिमेकी, गाउँ तथा समाजसमेत मृतकको अन्तिम यात्रासम्म सहभागी हुने परम्परा छ। मृतकको चित्त वा चेतनाको यात्रा शुभ र सफल होस् भन्ने उद्देश्यले धार्मिक विधि पूरा गर्नुका साथै जीवित परिवारलाई शोकबाट सामाजिक रूपमा सामान्य जीवनतर्फ फर्काउन र मृतकसँग जोडिएका पारिवारिक तथा सामाजिक सम्बन्धलाई विधिवत् पूरा गर्ने काम पनि मृत्यु संस्कारले गर्छ।
तामाङ समुदायमा बौद्ध धर्म–परम्पराको प्रभाव महत्त्वपूर्ण छ। लामा गुरुहरूबाट मृत्यु पश्चात् धार्मिक कर्मकाण्ड सञ्चालन गरिन्छ। मृतकले सुखावती भुवनमा शुभ गति प्राप्त गरून्, अशान्ति नहोस् र पुनर्जन्मको यात्रा सहज होस् भन्ने कामनासहित पूजा, पाठ, प्रार्थना तथा विभिन्न धार्मिक विधि गरिन्छ। लामाको भूमिका केवल मन्त्र पढ्ने वा पूजा गर्ने मात्र नभई बौद्ध धर्मअनुसारका विधि, पाठ र प्रार्थना सञ्चालन गरी मृतकको आगामी यात्राका लागि मार्गदर्शन गर्नु पनि हो। म्हाने जपलगायतका धार्मिक अभ्यासहरू पनि गरिन्छन्।
तर यहाँ एउटा महत्त्वपूर्ण विषय उठाउन आवश्यक छ। मृत्यु संस्कारमा बौद्ध धर्म र स्थानीय पुरानो धार्मिक परम्पराका विभिन्न पक्षहरू मिसिएको देखिन्छ। मेरो बुझाइमा धार्मिक संस्कारलाई जथाभावी मिसावट गरेर खिचडीजस्तो बनाउनु उचित हुँदैन। जुन धर्म र धर्मग्रन्थको आधारमा संस्कार गरिन्छ, त्यसैअनुसार विधि र परम्परालाई व्यवस्थित रूपमा अगाडि बढाउनु आवश्यक हुन्छ।
‘चरतम’ भनेको के हो?
अब म खास विषयमा प्रवेश गर्न चाहन्छु—‘चरतम’।
‘चर’ अर्थात् हड्डी र ‘तम’ अर्थात् कुरा भन्ने अर्थमा ‘चरतम’ शब्दलाई बुझ्न सकिन्छ। व्यवहारमा भने धेरैले यसलाई ‘चारदाम’ भन्ने गरेको पाइन्छ। तर शब्दको अर्थ र विषयगत सन्दर्भलाई हेर्दा ‘चरतम’ शब्द नै उपयुक्त र अर्थपूर्ण देखिन्छ।
चरतम र माइती पक्षको अर्थ
चरतमले अत्यन्त सुन्दर सामाजिक सन्देश बोकेको छ। छोरीचेली विवाहपछि पराई घर गइन् भन्दैमा माइतीसँगको नाता समाप्त हुँदैन। उनी नयाँ परिवारको सदस्य बन्छिन्, तर आफ्नो पुर्ख्यौली घर, वंश, ह्रुई र माइतीसँगको सम्बन्ध भने कायम रहन्छ। त्यसैले उनको जीवनको अन्तिम घडीमा पनि माइतीको अधिकार, उपस्थिति र जिम्मेवारीलाई महत्त्व दिइन्छ।
चरतमलाई केवल पूजा वा धार्मिक कर्मकाण्डका रूपमा मात्र हेर्ने हो भने यसको गहिरो सामाजिक अर्थ छुट्न सक्छ। यसका मुख्य तीन पक्ष छन्—
१. पहिचान:
विवाहपछि पनि छोरीचेलीको पुर्ख्यौली थर अर्थात् ‘ह्रुई’सँगको सम्बन्ध कायम रहन्छ।
२. सम्बन्ध:
विवाहपछि माइती र कुटुम्बबीचको सम्बन्ध समाप्त हुँदैन; बरु नयाँ सामाजिक सम्बन्धमा रूपान्तरण हुन्छ।
३. जिम्मेवारी:
छोरीचेलीलाई केवल श्रीमान्को परिवारको जिम्मामा छोडिएको हुँदैन। उनको सुख–दुःखमा जस्तै अन्तिम अवस्थामा पनि माइतीको सामाजिक जिम्मेवारी रहन्छ।
मृत्यु संस्कारमा चरतमको प्रभाव
कुनै तामाङ महिलाको जन्मदेखि विवाह र अन्ततः मृत्यु हुँदासम्म उनको हड्डी र ह्रुईमा स्थापित माइती पक्षको अधिकार र सम्बन्धलाई महत्त्व दिइन्छ। त्यसैले विवाहित महिलाको मृत्यु हुँदा माइती पक्षलाई खबर गर्ने, उनीहरूको उपस्थिति खोज्ने र अन्तिम संस्कारका महत्वपूर्ण चरणमा सहभागी गराउने परम्परा तामाङ समुदायमा देखिन्छ।
कतिपय स्थानमा अस्तु वा ‘मिनज्याङ’सम्बन्धी विधि पूरा गर्नुअघि माइती पक्षको उपस्थिति आवश्यक मानिन्छ र घरका छोराले माइती पक्षलाई अस्तु तथा मिनज्याङ दिने चलन पनि पाइन्छ। यद्यपि तामाङ समुदायभित्र ठाउँ, थर, गाउँ र परम्पराअनुसार विधि फरक हुन सक्छ। त्यसैले सबै तामाङ समुदायमा एउटै विधि हुन्छ भनेर सामान्यीकरण गर्नु उचित हुँदैन।
तर एउटा कुरा स्पष्ट छ—छोरीचेली विवाहपछि पूर्ण रूपमा ‘पराई’ हुँदैनन्। उनको जन्मकुल, वंश र माइतीसँगको सम्बन्ध निरन्तर रहन्छ। यही कारणले तामाङ समाजमा कतिपय स्थानमा छोरीचेलीको मृत्यु हुँदा माइती पक्ष नआएसम्म अन्तिम संस्कारका केही प्रक्रिया अघि नबढाउने परम्परा देखिन्छ।
जीवनमा विवाहले दुई परिवारलाई जोड्छ भने मृत्युले जन्मकुल र कर्मकुलबीचको सम्बन्धलाई अन्तिम पटक स्मरण गराउँछ। माइती पक्षको उपस्थितिले मृतक छोरीचेलीप्रति जन्मघरको अन्तिम दायित्व पूरा भएको संकेत गर्छ।
‘चारदाम’ होइन, ‘चरतम’?
हामी सबैले लामो समयदेखि ‘चारदाम’ भन्ने गरेको शब्दलाई अब एकपटक पुनर्विचार गर्नुपर्ने देखिन्छ। शब्दको अर्थ, सन्दर्भ र तामाङ सामाजिक परम्परासँगको सम्बन्धलाई हेर्दा ‘चरतम’ शब्द बढी अर्थपूर्ण र विषयगत रूपमा मेल खाने देखिन्छ।
त्यसैले ‘चारदाम’ भनेर चलिआएको शब्दलाई सुधार गरी ‘चरतम’ भन्ने विषयमा बहस र अध्ययन हुनु आवश्यक छ। यो केवल एउटा शब्द परिवर्तन गर्ने विषय मात्र होइन; यससँग जोडिएको तामाङ समाजको इतिहास, पहिचान, माइतीको अधिकार, सामाजिक सम्बन्ध र मृत्यु संस्कारको अर्थलाई बुझ्ने विषय पनि हो।
अन्ततः, मृतकको अन्तिम चरणका विधि सम्पन्न गर्नुअघि चरतम गर्ने परम्परा हाम्रो समाजमा रहँदै आएको छ। यस परम्परालाई केवल कर्मकाण्डका रूपमा नभई छोरीचेली, माइती, जन्मकुल र समाजबीचको अन्तिम सम्बन्ध र जिम्मेवारीको अभिव्यक्तिका रूपमा बुझ्न आवश्यक छ।
हाम्रो मौलिक संस्कार र परम्परालाई संरक्षण गर्दै त्यसको वास्तविक अर्थ, शब्द र विधिबारे अध्ययन, छलफल र पुस्तान्तरण गर्नु आजको पुस्ताको जिम्मेवारी हो।
— संजय लामा थोकर
काभ्रेपलाञ्चोक जिल्ला
रोशी गाउँपालिका–८, किर्दाश
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।