धुलिखेल, काभ्रेपलाञ्चोक
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लामा क्रियाशील पत्रकारहरूसँग अन्तरक्रिया तथा भेटघाट गर्नुभएको छ। केही समय अघिमात्र झापाबाट काभ्रेपलाञ्चोक सरुवा भएर आउनुभएका अधिकारीले जिल्लाका विद्यमान समस्या, प्रशासनिक चुनौती र समाधानका उपायबारे पत्रकारहरूसँग जानकारी लिनुभएको हो।
सिडिओ अधिकारीले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा कार्यसम्पादनका साथै काभ्रेका अन्य प्रशासनिक निकायहरूबाट प्रवाह हुने सेवा, विपद व्यवस्थापन, नागरिक सुरक्षा र आगामी फागुन २१ गते हुने निर्वाचन सुरक्षा विषयमा समेत विस्तृत रूपमा विमर्श गर्नुभएको थियो। सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै उहाँले सरकारी कार्यालयहरूबीच राम्रो समन्वयको अभाव रहेकाले सूचना प्रवाहमा ढिलाइ र समस्या देखिने बताउनुभयो। उहाँले कार्यालयको कामकारबाहीबारे प्रतिवेदन तयार पार्न दक्ष जनशक्ति अभाव पनि चुनौती रहेको उल्लेख गर्नुभयो।
सिडिओ अधिकारीले धुलिखेल–सूर्यविनायक सडक विस्तार आयोजना र विपी राजमार्गको विकास निर्माण कार्यमा समस्या आउँदा प्रशासनले सहजिकरण गरिरहेको जानकारी दिनुभयो। दिउँसो गुड्ने केही टिपरहरूले नक्कली पास बोक्ने गरेको गुनासो आएको उल्लेख गर्दै उहाँले त्यस्तो गतिविधिमा प्रशासनले कडा निगरानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद कुमार न्यौपानेले गत वर्षका बाढीपहिरो पीडित नागरिकहरूको आवास पुनर्निर्माणका लागि उपलब्ध राहत सबै पीडितले नपाएको कारणबारे ध्यानाकर्षण गराउँदै राहत वितरण र पुनर्निर्माण प्रक्रियामा प्रभावकारी समन्वय गरिदिन सिडिओ अधिकारीलाई अनुरोध गर्नुभयो।
अन्तरक्रियाले जिल्ला प्रशासन, पत्रकार र स्थानीय निकायबीच पारस्परिक सहकार्य र पारदर्शिता बढाउने अवसर सृजना गरेको बताइएको छ।
सिडिओ अधिकारीले प्रशासनिक सुधार, विपद व्यवस्थापन र नागरिक सुरक्षामा सन्तुलित र सक्रिय भूमिकाको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, नेपाल पत्रकार महासँघका पदाधिकारी लगायत काभ्रेपलाञ्चोकमा क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

0 Comments