२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

'आधिकारिक तथ्याङ्क, पारदर्शी शासन' नारासहित काभ्रेपलाञ्चोकमा तथ्याङ्क दिवस मनाइयो

नमनखबर डेस्क पुस १८, २०८२ १९२
'आधिकारिक तथ्याङ्क, पारदर्शी शासन' नारासहित काभ्रेपलाञ्चोकमा तथ्याङ्क दिवस मनाइयो

धुलिखेल । तथ्याङ्क दिवस २०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आधिकारिक तथ्याङ्क, पारदर्शी शासनभन्ने नारालाई आत्मसात गर्दै दिवस मनाइएको हो। साविक केन्द्रीय तथ्याङ्क विभागको स्थापना भएको दिन २०१५ साल पौष १७ गतेलाई प्रत्येक वर्ष राष्ट्रिय तथ्याङ्क दिवसका रूपमा मनाइँदै आएको छ।

कार्यक्रम नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाका अध्यक्ष विनोद कुमार न्यौपानेको प्रमुख आतिथ्यता तथा तथ्याङ्क समन्वय कार्यालयका प्रमुख तथ्याङ्क समन्वय अधिकारी दीपक कोइरालाको अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले तथ्याङ्कमा गुणस्तर, शुद्धता र सर्वसाधारणको पहुँच अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो। आधिकारिक तथ्याङ्ककै आधारमा असल शासन सम्भव हुने उल्लेख गर्दै उहाँले गणना प्रक्रियामा तालिम प्राप्त जनशक्ति र स्तरीय समन्वय आवश्यक रहेको बताउनुभयो।

कार्यपत्र प्रस्तुत गर्दै तथ्याङ्क समन्वय अधिकारी कोइरालाले कार्यालयको कार्यक्षेत्रबारे जानकारी दिनुभयो। उहाँका अनुसार रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखासहित चार जिल्लाका ४२ स्थानीय तह कार्यालयको कार्यक्षेत्रभित्र पर्दछन्। तथ्यमा आधारित नीति निर्माणका लागि तथ्याङ्क अपरिहार्य भएको उल्लेख गर्दै कार्यालयले सम्पादन गर्दै आएका काम, जिम्मेवारी र सांगठनिक संरचनासमेत कार्यपत्रमा समावेश गरिएको जानकारी दिनुभयो।

ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै कोइरालाले २०१५ सालमा केन्द्रीय तथ्याङ्क विभाग स्थापना भएपछि २०५० सालमा देशभर ७५ वटै जिल्ला हेर्ने गरी ३३ वटा शाखा तथ्याङ्क कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो। २०७९ साल आश्विन २७ गतेदेखि राष्ट्रिय तथ्याङ्क कार्यालयमा स्तरोन्नति गरिएको र २०८१ सालदेखि देशभर १८ वटा तथ्याङ्क समन्वय कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा २०८२ साल चैत महिनामा राष्ट्रिय आर्थिक गणना गरिने तयारी भइरहेको जानकारी पनि दिइयो। त्यसका लागि प्रत्येक जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरिने, आवश्यक जनशक्ति करारमा लिइने र सम्बन्धित सूचना छिट्टै सार्वजनिक गरिने अधिकारी कोइरालाको भनाइ थियो।

तथ्याङ्क दिवसको अवसरमा तथ्याङ्क समन्वय कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत सुपरिवेक्षक सन्तोष कार्की र २५ वर्षदेखि कार्यरत कार्यालय सहयोगी खड्कबहादुर भुजेललाई सम्मान गरिएको थियो।

तथ्याङ्क कार्यालयमार्फत जनगणना, कृषि गणना र आर्थिक गणनालगायतका प्रमुख गणनात्मक कार्यहरू हुँदै आएका छन्। कार्यक्रमको स्वागत मन्तव्य कर्मचारी यज्ञमणि भण्डारीले राख्नुभएको थियो भने सञ्चालन मनोरथ जोशीले गर्नुभएको थियो।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।