आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि
काठमाडौं – उपचारका क्रममा मृत्यु भएका मुगुको सोरु गाउँपालिका–१, जवलधाराका २५ वर्षीय गणेश नेपालीको सोमबार काठमाडौंस्थित पशुपति आर्यघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका नेपालीको गत शुक्रबार वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो।
नेपालीले असार २५ गते बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य प्रवेशद्वार अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि त्यहाँ उपस्थित सुरक्षाकर्मी तथा सर्वसाधारणले तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्याएका थिए।
चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान जोगाउन नसकिएको अस्पताल स्रोतले जनाएको थियो।घटनापछि मृतकका परिवार, आफन्त तथा स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन, जिम्मेवार निकायको जवाफदेहिता र पीडित परिवारलाई उचित राहतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका थिए।
त्यसपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा पटक–पटक वार्ता भएको थियो ।
वार्तापछि आइतबार सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो। सहमतिसँगै मृतकको शव परिवारले बुझेर सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । सहमतिपत्रमार्फत नेपाल सरकार र काठमाडौं महानगरपालिकाले स्वर्गीय गणेश नेपालीप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले गठन भएको सात दिनभित्र नेपाल सरकारसमक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था गरिएको छ। उक्त प्रतिवेदन र प्रचलित कानुनका आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा समेत आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।यस्तै, घटनाको दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन आयोगको प्रतिवेदन नआएसम्मका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने सहमति भएको छ।
पीडित परिवारको दीर्घकालीन सुरक्षालाई ध्यानमा राख्दै मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने, उनकी आश्रित छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने तथा आवश्यक समन्वय नेपाल सरकारका सम्बन्धित निकायले गर्ने सहमति गरिएको छ।
यसैगरी, मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित आर्थिक सहयोग उपलब्ध गराउने, अन्त्येष्टि र काठमाडौंमा गरिने काजक्रियाको सम्पूर्ण व्यवस्थापन गर्ने, एकाघरका परिवारजनको यातायात तथा बसोबास खर्च व्यहोर्ने र परिवारको स्वास्थ्य बीमाको व्यवस्था मिलाउने विषय पनि सहमतिपत्रमा समावेश गरिएको छ। साथै, पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सहमतिपत्रमा नेपाल सरकार तथा स्थानीय तहका तर्फबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् । पीडित परिवारका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपालीसहित वार्ता समितिका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
गणेश नेपालीको आत्मदाहको घटनाले सार्वजनिक सेवा प्रवाह, नागरिकका गुनासा सुनुवाइ गर्ने संयन्त्र, राज्यका निकायहरूको जवाफदेहिता तथा मानसिक स्वास्थ्यका विषयलाई पुनः राष्ट्रिय बहसको केन्द्रमा ल्याएको छ। सार्वजनिक सेवा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता यस घटनाले थप उजागर गरेको विश्लेषण गरिएको छ। मानसिक स्वास्थ्यका क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार व्यक्तिगत पीडा, सामाजिक दबाब वा संस्थागत समस्याबाट उत्पन्न निराशा समयमै सम्बोधन हुन नसक्दा यस्ता दुःखद घटना निम्तिन सक्छन्। त्यसैले नागरिकका गुनासालाई संवेदनशील रूपमा सम्बोधन गर्ने प्रणाली सुदृढ गर्नु, मानसिक स्वास्थ्य सेवा सहज पहुँचमा पुर्याउनु तथा राज्य र नागरिकबीच विश्वास अभिवृद्धि गर्ने वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको उनीहरूको भनाइ छ।
यो घटना एक व्यक्तिको दुःखद निधनमा मात्र सीमित नभई सार्वजनिक सेवा प्रणाली, उत्तरदायी शासन, सामाजिक संवेदनशीलता र मानव जीवनको सम्मानलाई थप सुदृढ बनाउने दिशामा सम्बन्धित सबै पक्षलाई गम्भीर समीक्षा र सुधारका लागि प्रेरित गर्ने घटनाका रूपमा हेरिएको छ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।