त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता प्रमुख अतिथि
काठमाडौँ - कीर्तिपुर त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज आफ्नो ५१औँ दीक्षान्त समारोह भव्य रूपमा आयोजना गर्दैछ। कीर्तिपुरस्थित विश्वविद्यालयको खेलकुद मैदानमा आयोजना हुने यस समारोहमा विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ ।
समारोहका प्रमुख अतिथि जापानी भौतिकशास्त्री एवं नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता रहेका छन्। टोकियो विश्वविद्यालयसँग आबद्ध प्रा.डा. काजिताले सन् २०१५ मा भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए।
त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्यालका अनुसार प्राज्ञिक गरिमा बढाउन र अन्तर्राष्ट्रिय स्तरको सन्देश दिन यसपटक विशिष्ट अतिथिको छनोट गरिएको हो।विश्वविद्यालयका अनुसार यस वर्ष विभिन्न संकाय र तहबाट उत्तीर्ण भएका कुल ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना विद्यार्थी दीक्षित हुँदैछन्।
समारोहमा विद्यार्थी र अभिभावक गरी करिब ४१ हजार व्यक्तिको उपस्थिति रहने अनुमान गरिएको छ।
संकायगत उत्तीर्ण संख्या:
व्यवस्थापन: ४३,६१० जना
शिक्षा: १६,४६७ जना
मानविकी: १४,८५१ जना
कानुन: २,३३५ जना
यसपटक विभिन्न संकाय र तहका परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने २५ जना मेधावी विद्यार्थीलाई पदक तथा पुरस्कार प्रदान गरिनेछ । जसमा ११ जना छात्रा र १४ जना छात्र रहेका छन्।
उपकुलपति प्रा.डा. अर्यालले दीक्षान्तका लागि मण्डप निर्माण, सुरक्षा व्यवस्था र बस्ने प्रबन्ध लगायतका सम्पूर्ण प्राविधिक तथा भौतिक तयारी पूरा भएको जानकारी दिएका छन्। कार्यक्रमलाई व्यवस्थित बनाउन स्वयंसेवक र सुरक्षाकर्मीको विशेष परिचालन गरिएको छ ।
त्रिविले यसपटकको दीक्षान्तलाई 'डिजिटल' र 'पेस' (PACE) सँग जोडेर स्तरीय बनाउने लक्ष्य राखेको जनाएको छ ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।