२०८३-कार्तिक-२० बिहिबार

बिहानको ११:२५:२७

रोशी–८ मा टेन्डरपछि विवादको आशङ्का: निर्धक्क काम गर्ने वातावरण बनाउन युवा सक्रिय

नमनखबर डेस्क • कार्तिक २०, २०८३ • २४५
रोशी–८ मा टेन्डरपछि विवादको आशङ्का: निर्धक्क काम गर्ने वातावरण बनाउन युवा सक्रिय

काभ्रे। रोशी गाउँपालिका–८ मा विकास निर्माणका काममा कुनै पनि व्यक्ति, समूह वा राजनीतिक शक्तिको दबाब र प्रभाव पर्न नहुने भन्दै स्थानीय युवाहरूले खबरदारी गरेका छन्। यसअघि बुद्धचित्त मालाको विषयमा अनावश्यक विवाद सिर्जना भएको स्मरण गराउँदै युवाहरूले विकास निर्माणका काममा पनि विवादरहित वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

यसअघि बुद्धचित्त मालासम्बन्धी विवादका क्रममा सोही वडाका प्रभावशाली युवा क्षितिज तामाङ (जिम्बल) ले दुवै पक्षलाई विवाद नगर्न र नगराउन आग्रह गरेका थिए।

त्यस्तै, रोशी–८ मा क्रसर सञ्चालनका नाममा भइरहेको अनावश्यक उत्खननका कारण सिङ्गो खार्पचोक ठूलो गाउँ नै जोखिममा परेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। यस विषयमा गाउँपालिका सरकारले आवश्यक कदम नचालेकोप्रति दुःख व्यक्त गर्दै तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।

यो विषय उठाउँदा राजनीतिक दलका नेतृत्व, जनप्रतिनिधि, स्थानीय सरकार वा क्रसर सञ्चालक जोसुकै असन्तुष्ट भए पनि आफूहरूलाई कुनै फरक नपर्ने उनको भनाइ छ। स्थानीय जनताको दुःख, चिन्ता र समस्याको समाधानका सवालमा आफूहरू कुनै पनि सम्झौता नगर्ने उनले स्पष्ट पारेका छन्। उत्खननमा संलग्न दोषीमाथि कारबाही नभएमा र आज सिङ्गो खार्पचोकवासीले जोखिम बेहोर्नुपरेको अवस्थामा इतिहासले सम्बन्धित व्यक्तिहरूलाई दोषीका रूपमा मूल्याङ्कन गर्ने उनको भनाइ छ।

मुख्य विषय टेन्डर प्रक्रिया भए पनि युवाहरूले बुद्धचित्त माला विवाद र क्रसर उत्खननबाट उत्पन्न जोखिमका विषयलाई समेत जोडदार रूपमा उठाएका थिए।

यसैबीच, क्षितिज तामाङ (जिम्बल) को आफ्नै अनुरोध र पहलमा गाउँपालिका अध्यक्ष दिनेश लामाले रोशी–८ अन्तर्गत नार्के, किर्दाश र खार्पचोक क्षेत्रका लागि पालिकास्तरबाट उल्लेख्य बजेट विनियोजन गरेका थिए। गाउँपालिका र बागमती प्रदेश सरकारको संयुक्त बजेटबाट विनियोजन भएको रकमले स्थानीयवासीमा खुसी छाएको थियो।

तर, विकास निर्माणका लागि आह्वान गरिएको टेन्डरपछि गाउँघरदेखि पालिका कार्यालयसम्म विभिन्न विवादित व्यक्तिहरूको आउजाउ बढेको र पुनः विवाद सिर्जना हुन सक्ने आशङ्का बढेपछि नार्के–किर्दाश क्षेत्रका क्षितिज तामाङ (जिम्बल) सहितका युवाहरूले गाउँपालिकाको ध्यानाकर्षण गराएका हुन्।

जुनसुकै ठेकेदारले टेन्डर प्राप्त गरे पनि निर्धक्क भएर काम गर्ने वातावरण आफूहरूले निर्माण गर्ने र आवश्यक सहजीकरण गर्न तयार रहेको युवाहरूले बताएका छन्। तर, निर्माण कार्य गुणस्तरहीन भएमा वा ठेकेदार र प्राविधिकबीचको मिलेमतोमा काम फितलो बनाइएमा स्थानीय स्तरबाटै खबरदारी तथा आवश्यक कारबाही अघि बढाउने उनीहरूको चेतावनी छ। साथै, कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा उजुरीसमेत गर्ने बताएका छन्।

सोही विषयलाई लिएर क्षितिज तामाङ (जिम्बल) को नेतृत्वमा युवाहरूको समूहले गाउँपालिका कार्यालय पुगेर गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिनबहादुर वाइबा (ज्वाला) तथा प्राविधिक शाखाका इन्जिनियरहरूलाई सामूहिक रूपमा ध्यानाकर्षण पत्र बुझाएको थियो।

ध्यानाकर्षण पत्र बुझाउने क्रममा युवाहरूले बजेट विनियोजन गरी विकास निर्माणको अवसर सिर्जना गरेकोमा गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिनबहादुर वाइबा (ज्वाला) लगायत सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक धन्यवाद तथा आभारसमेत व्यक्त गरेका थिए।

युवाहरूले विकास निर्माणमा राजनीतिक हस्तक्षेपभन्दा पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।