२०८३-भदौ-०८ सोमबार

बिहानको ११:२५:२७

मसँग नबोल्ने, तर समस्या पर्दा मलाई नै खोज्ने—यो कस्तो विडम्बना!?

अशोक बुद्ध लामा साउन २५, २०८३ ३0९
मसँग नबोल्ने, तर समस्या पर्दा मलाई नै खोज्ने—यो कस्तो विडम्बना!?

जीवनमा यस्ता सम्बन्ध पनि हुँदा रहेछन्, जसको नाम लिन पनि सकिँदैन। न त उनीहरू पूर्ण रूपमा आफ्ना हुन्छन्, न त पराई नै भन्न सकिन्छ। सम्बन्ध छ, तर संवाद हुँदैन। नजिक छन्, तर मन टाढा हुन्छ। अनि सबैभन्दा ठूलो विडम्बना त के भने, आफूलाई आवश्यक पर्दा त्यही मान्छेलाई सम्झिन्छन्, जसलाई सामान्य अवस्थामा हेर्न र बोल्नसमेत आफ्नो अहंकारले रोक्छ।

मेरो जीवनमा पनि यस्ता पात्रहरू छन्। मसँग बोल्दैनन्। सायद उसको मनमा मप्रति गुनासो होला, अहंकार होला। सायद ‘म आफैं कमाउन सक्ने भएँ’ भन्ने सोच होला। त्यसैले होला, उसले मौनतालाई आफ्नो हतियार बनायो। मैले पनि सोचेँ—ठीकै छ, जब उसलाई मेरो आवश्यकता छैन र आफ्नो आवश्यकता पूरा भयो भन्ने ठानेको छ भने म किन उसको जीवनमा जबर्जस्ती उपस्थित भइरहूँ?

तर जीवनको बाटो अचम्मको हुँदो रहेछ। जसले सामान्य अवस्थामा बोल्न आवश्यक नठान्ने मान्छेले समस्या पर्दा भने पहिलो सम्झना मलाई नै बनाउने रहेछ।

अर्को विडम्बना त के छ भने, जुन ठाउँमा आज ऊ काम गरिरहेको छ, त्यहाँसम्म पुग्ने बाटो पनि मैले नै मिलाइदिएको थिएँ। त्यो दिन मेरो कुनै स्वार्थ थिएन। केवल ऊ आर्थिक रूपमा केही मजबुत होस् भन्ने चाहनाले मैले आफ्नो पहुँच र सामर्थ्य प्रयोग गरेको थिएँ। ऊ सफल पनि भयो।

तर समय बित्दै जाँदा मैले एउटा कुरा बुझ्दै गएँ—कतिपय मान्छेले तपाईंले गरेको सहयोग सम्झनामा राख्दा रहेनछन्। तपाईंप्रति आफूले गरेको व्यवहार पनि गलत लाग्दो रहेनछ। म उसको सफलतामा सधैं खुसी नै थिएँ, तर उसको व्यवहारले भने मेरो मन दुखेको थियो।

मैले त उसलाई आफ्नो सम्झेर सहयोग र साथ दिएको थिएँ। तर आज त्यही साथ र सहयोग बिर्सेर, मलाई बोल्नुपर्ने र जानकारी दिनुपर्ने कुरासमेत उसले बताएन।

मलाई प्रस्ट थाहा छ, मैले बुझेको पनि छु—कसैलाई सहयोग गरेर त्यसको मूल्य माग्नु मेरो नैतिकताले दिँदैन। मैले बदलामा ठूलो सम्मान पनि खोजेको थिइनँ। मलाई केवल कम्तीमा एउटा मान्छेले अर्को मान्छेलाई जति सम्झिन्छ, त्यति मात्र सम्झिदिए पुग्थ्यो। तर सायद उसको अहंकारले त्यो पनि दिएन।

समयले मलाई एउटा गहिरो पाठ सिकायो—मान्छेको वास्तविक मूल्य उसले तपाईंलाई आफ्नो सुखमा कति सम्झिन्छ भन्ने कुराबाट होइन, तपाईंले उसको दुःखमा साथ दिँदा उसले त्यसलाई कसरी सम्झिन्छ भन्ने कुराबाट थाहा हुँदो रहेछ।

मसँग नबोल्नु उसको अधिकार हो। मलाई बेवास्ता गर्नु पनि उसैको अधिकार हो। तर समस्या पर्दा मलाई नै खोज्ने, अनि म अस्वस्थ भएर पीडामा ओछ्यानमा सुतिरहेको बेला बेवास्ता गर्ने—यो कस्तो संस्कार हो? यसको उत्तर मैले आजसम्म पाएको छैन।

उसको अस्वस्थतामा मैले दिनरात समय दिएको थिएँ। उसको आर्थिक, भौतिक तथा नैतिक समस्यामा मैले सक्दो सहयोग गरेकै थिएँ। तर बदलामा उसले मलाई एउटा सामान्य मान्छेलाई जति पनि मूल्य दिएन।

अब मैले आफैंलाई सुधार्नु छ। जसलाई मैले जहिल्यै आफ्नो सम्झेर साथ दिएँ, सहयोग गरेँ, उसले मेरो मौनतालाई कमजोरी नठानोस्।

तिम्रो प्रगति होस्, सफलता मिलोस्—मेरो शुभकामना सधैं रहनेछ। तर याद राख, तिम्रो कठिन समयमा, कोही कसैबाट आर्थिक, भौतिक वा नैतिक साथ नपाएका बेला मैले आफ्नो सामर्थ्य र क्षमताले भ्याएसम्म सबै खालको साथ र सहयोग दिएको थिएँ। तिम्रो बलियो पिलर बनेर हात थामेको थिएँ।

त्यो सहयोग तिम्रो अहंकारले बिर्सन सक्छ, तर त्यो तिम्रो जित होइन—एउटा असल मान्छे गुमाउनु हो।

मैले सहयोग गरेको थिएँ। उसले सम्झियोस् वा बिर्सियोस्, त्यो उसको कुरा हो। उसको कठिन समयमा आर्थिक रूपमा माथि उठाउन, उसको आफ्नै परिवारबाट नपाएको साथसमेत मैले धेरै दिएको थिएँ। आज ती सबै कुरा बिर्सेर जहिल्यै मेरो बारेमा नकारात्मक सोच राख्न थाल्यो भने, त्यसमा पनि मैले केही भन्नु छैन। समयसँगै मान्छेले आफ्नो वास्तविक प्रवृत्ति देखाउँदो रहेछ।

मैले बुझें—सबैलाई साथ दिन सकिन्छ, तर सबै आफ्नो हुँदैनन्। त्यसैले अब न कसैसँग गुनासो गर्छु, न त हिसाब खोज्छु।

अब आफ्नो बाटो आफैं हिँड्नेछु। आफ्नो आत्मसम्मान र स्वाभिमानलाई जोगाएर, मुस्कुराउँदै र शान्तिपूर्वक अगाडि बढ्नु नै उत्तम हुनेछ।

संजय लामा थोकर

काभ्रेपलाञ्चोक जिल्ला, रोशी–८

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।