काभ्रेपलाञ्चोक जिल्ला बचत संघको २८ औँ साधारण सभा: योगदान पुर्याउने व्यक्तित्वहरू सम्मानित
बनेपा, काभ्रेपलाञ्चोक, २०८२ पुस १० गते
। काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २८ औँ वार्षिक साधारण सभा बिहीबार चेतना केन्द्र, बुडोलमा सम्पन्न भएको छ ।
साधारण सभाबाट उदयराम कायस्थको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । उपाध्यक्ष पद बाहेकका सबै पदमा कार्यसमिति सर्वसम्मत (निर्बिरोध) रूपमा चयन भएका छन् । उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सागरनाथ कपालीलाई पछि पार्दै निर्मला श्रेष्ठ विजयी हुनुभएको हो । साधारणसभामा संघको सचिव पदमा राजन अधिकारी र कोषाध्यक्ष पदमा जीवन श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै, सञ्चालक समितिका सदस्यहरूमा राजन सापकोटा, श्रीकृष्ण न्यौपाने, दिनोद सापकोटा, जान्दवी अधिकारी र चन्द्रा श्रेष्ठ निर्वाचित हुनुभएको हो । लेखा समितिको संयोजकमा शिवप्रसाद अधिकारी चयन हुनुभएको छ भने सदस्यहरूमा नवराज के.सी. र राजकुमार आचार्य निर्वाचित हुनुभएको छ।
साधारण सभाले संघको आगामी कार्ययोजना, नीति तथा कार्यक्रमलाई समेत अनुमोदन गरेको जनाइएको छ ।
नव–निर्वाचित अध्यक्ष उदयराम कायस्थले सहकारी अभियानलाई नीति, विधि र मूल्य–मान्यतामा आधारित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सदस्य–केन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, सुशासन प्रवर्द्धन गर्ने तथा सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूको सामूहिक समाधान खोज्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
साधारणसभाको अवसरमा सहकारी अभियानमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न सहकारी संस्थाका प्रबन्धक, सहकारी संस्था तथा निवर्तमान सञ्चालक सदस्यहरू एवं सञ्चारकर्मी रमेश प्रसाद न्यौपाने लगायतका व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको हो ।
त्यस्तै सहकारी अभियानको प्रवर्द्धन, जिल्लाभरका सहकारी संस्थाको अवस्था तथा गतिविधिबारे निरन्तर कलम चलाउँदै आएको योगदानको कदर गर्दै युवा पत्रकार अरबिन्द्र गौतमलाई नगदसहित सम्मानित गरिएको थियो।
कार्यक्रममा संघले विगत चार वर्षमा गरेको कार्यसम्पादनको समीक्षा गर्दै सहकारीका सवाल र वर्तमान अवस्थाबारे प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
संघको वार्षिक प्रतिवेदन सचिव सुरेन्द्रप्रसाद पौडेलले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष जीवन श्रेष्ठले तथा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक शिवप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको थियो।
स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले राख्नुभएको थियो ।

संघले आर्थिक वर्ष २०८१/०८२ मा शेयर लगानीतर्फ रु. ६८ लाख ४० हजार १००, ऋण लगानीतर्फ रु. ४६ करोड ८७ लाख ४१ हजार तथा वित्तीय लगानीतर्फ रु. ३१ करोड पुगेको जानकारी दिएको छ।
साधारणसभामा जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि, सरोकारवाला निकायका व्यक्तित्व तथा अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले नव–निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकारी अभियानको सुदृढीकरणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।