सहयात्राको १८ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा हरिचन्द्र श्रेष्ठ
पनौती, काभ्रेपलाञ्चोक
सहयात्रा देवीस्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औं वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रम पनौती बैंक्वेटको प्राङ्गणमा एक भव्य, औपचारिक र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरू, कर्मचारी र आमन्त्रितहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव हरिशंकर तिमल्सिनाले गर्नुभएको थियो।
सभाको उद्घाटन गर्दै अध्यक्ष गोविन्द प्रसाद न्यौपानेले विगत वर्षमा संस्थाले हासिल गरेका उपलब्धि, सामना गर्नुपरेका चुनौतीहरू र सदस्यहरूको निरन्तर विश्वासप्रति आभार प्रकट गर्नुभयो। उहाँले सहकारीको दिगोपना, पारदर्शिता र उत्तरदायित्वपूर्ण व्यवस्थापन नै संस्थाको सफलता हो भन्दै नयाँ नेतृत्वलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।
सहकारीको निर्वाचन प्रक्रिया २०८२ असोज २४ गतेबाट सुरु भई असोज २८ गते अन्तिम नामावली प्रकाशनसहित सम्पन्न भएको थियो। प्रकाश बञ्जाराको संयोजकत्वमा रहेको निर्वाचन उपसमितिमा प्रताप ताम्राकार र यज्ञ प्रसाद हुमागाईं सदस्य रहनुभएको थियो। समितिले सम्पूर्ण निर्वाचन कार्य पारदर्शी, निष्पक्ष र उत्साहपूर्ण ढंगले सम्पन्न भएको जानकारी दिएको थियो। साथै, सबै पदाधिकारीहरू सर्वसहमतिमा निर्विरोध निर्वाचित हुनुभएको थियो।
निर्वाचनको परिणामअनुसार अध्यक्षमा हरिचन्द्र श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ। त्यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा हिरादेवी श्रेष्ठ सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
वार्षिक साधारण सभामा चार्टर्ड एकाउन्टेन्ट (सिए) सुनिल श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उक्त प्रतिवेदनमा सहकारीको आर्थिक अवस्था सन्तुलित रहेको, वित्तीय अनुशासन सुदृढ रहेको र डिजिटल व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउने सुझावहरू समावेश थिए। प्रतिवेदन सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको थियो।
त्यसक्रममा प्रमुख व्यवस्थापक गौतम प्रजापतिले संस्थाको सेवा विस्तार, सञ्चालन, सदस्य सन्तुष्टि र आगामी वर्षका योजनाबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो। उहाँले सहकारीको डिजिटल रूपान्तरण, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण र सदस्यमूखी सेवा प्रवाहलाई प्राथमिकतामा राखिने बताउनुभयो।
सचिव हरिशंकर तिमल्सिनाले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष सम्पन्न भएका कार्यक्रम र नीति योजनाबारे प्रकाश पार्नुभयो। उहाँले आगामी दिनहरूमा सदस्यहरूको सक्रिय सहभागिता, सहकार्य र साझा उद्देश्यमा आधारित निर्णय प्रक्रियाको आवश्यकता औंल्याउनुभयो।
कोषाध्यक्ष आनन्द सापकोटाले आर्थिक विवरण प्रस्तुत गर्दै खर्च नियन्त्रण, बचत वृद्धि तथा आर्थिक सन्तुलन कायम राख्ने योजनाहरू साझा गर्नुभयो।
त्यस्तै, लेखा सुपरिवेक्षण समिति संयोजक नरहरि भण्डारीले लेखा परीक्षण प्रतिवेदनका सकारात्मक सुधारका पक्षहरूबारे विस्तृत जानकारी दिँदै सहकारीको पारदर्शी कार्यशैली र उत्तरदायित्वपूर्ण व्यवस्थापनको प्रशंसा गर्नुभयो।
कार्यक्रमको समापन सत्रमा नवनिर्वाचित अध्यक्ष हरिचन्द्र श्रेष्ठले नयाँ नेतृत्वमाथि देखाइएको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै सहकारीलाई अझ मजबुत, दिगो र डिजिटल रूपान्तरणतर्फ अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले सहकारीका सबै सदस्य, कर्मचारी र सरोकारवालाबीचको सहकार्य, पारदर्शिता र उत्तरदायित्व नै संस्थाको प्रमुख आधार बन्ने स्पष्ट गर्नुभयो।
१८ औं वार्षिक साधारण सभा सहकारीको आगामी कार्ययोजना, सदस्य सशक्तीकरण र सेवा विस्तारका प्रतिबद्धतासहित औपचारिक रूपमा सम्पन्न गरिएको थियो।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।