२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

काभ्रेका १३ पालिकाको प्रगति विवरण सार्वजनिक: विपद् व्यवस्थापनदेखि शिक्षा सुधारसम्म उल्लेखनीय उपलब्धि

नमनखबर डेस्क असार ०३, २०८२ २७२
काभ्रेका १३ पालिकाको प्रगति विवरण सार्वजनिक: विपद् व्यवस्थापनदेखि शिक्षा सुधारसम्म उल्लेखनीय उपलब्धि

धुलिखेल । आर्थिक वर्ष २०८१/८२ मा काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहहरूले गरेका उल्लेखनीय काम, चुनौती र सफलताको मूल्याङ्कनसहितको प्रगति विवरण सार्वजनिक गरिएको छ। जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा धुलिखेल अस्पतालको अडिटोरियम हलमा सम्पन्न आठौं जिल्ला सभामा यो समिक्षा प्रस्तुत गरिएको हो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) काभ्रेका प्रमुख दिपक कुमार गौतमको सभापतित्वमा प्रमुख अतिथि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा, विशिष्ट अतिथि रत्न प्रसाद ढकाल, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत पौडेल, १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, संघीय तथा प्रादेशिक विषयगत कार्यालय प्रमुखहरू र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सभामा जिसस काभ्रेलाई केन्द्र बनाउँदै जिल्लाभरका विपद्को व्यवस्थापन, खानी तथा निर्माणजन्य स्रोतको निरीक्षण, वित्तीय प्रगति, तथा युवा सशक्तिकरणजस्ता विषयमा प्रस्तुत गरिएका रिपोर्टहरू चर्चाको केन्द्र बने। समितिले यो वर्ष ७७.४ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिएको छ। साथै विपद्का बेला तत्काल उद्दार तथा राहत पुर्‍याउन सक्रियता देखाइएको छ। यसै वर्ष काठमाडौं विश्वविद्यालयमा आयोजित 'विश्व युवा सम्मेलन' पनि जिससको समन्वयमा सम्पन्न भएको उल्लेख गरियो।

बनेपा नगरपालिकाले आफ्नो सबै वडामा विपद् व्यवस्थापन समिति गठन गरेको छ भने सामुदायिक विद्यालयमा दिइने दिवा खाजामा पाँच रुपैयाँ थप गरेको छ। यसले बालबालिकाको पोषणमा सकारात्मक असर गर्ने विश्वास गरिएको छ।

धुलिखेल नगरपालिकाले विद्यालय शिक्षामा डिजिटल प्रविधिको प्रयोग सुरु गरेको छ, जसले गुणस्तरीय शिक्षामा प्रविधि पहुँच बढाएको छ। सो नगरले ५७.८ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ।

पनौती नगरपालिकाले कृषकलाई भैंसी सुत्केरी भत्ता वितरण गरेर पशुपालनमा प्रोत्साहन गरेको छ। साथै पनौतीको संरक्षित क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न औपचारिक पहल सुरु गरेको उल्लेख गरिएको छ।

नमोबुद्ध नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सूचना केन्द्र स्थापना गरेको छ भने ११,६३३ वटा पशुहरुको विमा गरेर कृषकलाई जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याएको छ। अस्थायी आवास सहायता पनि पूर्ण रूपमा वितरण गरिएको जनाएको छ।

पाँचखाल नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा १,५३१ वटा व्यक्तिगत घटना दर्ता गरेको छ। साथै नगरभित्रका ५१ भन्दा बढी सामुदायिक वनमा फलफूल तथा जडीबुटी रोपण गरी दीर्घकालीन स्वरोजगारको प्रयास गरेको देखिन्छ।

मण्डनदेउपुर नगरपालिकाले जापानको एक नगरसँग भगिनी सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय सहकार्यको ढोका खोलेको छ। विपद् पीडितलाई नगद ५० हजार रुपैयाँ राहत उपलब्ध गराउनुका साथै नगरभित्रका विद्यालयमा विद्यार्थीहरूको नाक, कान र घाँटीको निःशुल्क परीक्षण पनि सुरु गरिएको छ।

महाभारत गाउँपालिकाले आर्थिक शुद्धता कायम राख्दै यस आ.व. मा शून्य बेरुजु पालिका बन्न सफल भएको छ, जसलाई देशको उदाहरणीय पालिकाका रूपमा प्रस्तुत गरिएको छ। बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्नुका साथै '१ बोट कफी – २० को नोट' अभियान सञ्चालन गरी कृषकसँग सहकार्य गरिएको छ।

भुम्लु गाउँपालिकाले डडेलोमुक्त पालिका घोषणा गर्दै स्थानीय उत्पादन—कोदो र फापरमा २० देखि ३० रुपैयाँसम्म अनुदान दिएको छ। प्रशासनिक भवन निर्माणका लागि जग्गा प्राप्तिको काम अगाडि बढाइएको छ। साथै पाँचाँच पाण्डवको मूर्ति स्थापना गर्दै, एसईई मा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई जनही १ लाख रुपैयाँ पुरस्कृत गरेर प्रोत्साहित गरिएको छ।

बेथानचोक गाउँपालिकाले गएको असोज १२/१३ गतेको विपद्लाई डटेर सामना गरेको बताइएको छ। सो पालिकाले ५३.५९ प्रतिशत वित्तीय प्रगति गरेको छ।

रोशी गाउँपालिकाले ४४ जना कृषकलाई पशुपालनमा अनुदान दिएको छ भने न्यायिक समितिमा दर्ता भएका ९ मध्ये ५ वटा मुद्दा मेलमिलापमार्फत टुंगो लगाएको छ।

खानिखोला गाउँपालिकाले सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ। यद्यपि, कार्यालय भवनको अभावले सेवा प्रवाहमा कठिनाइ आइरहेको पनि उल्लेख गरिएको छ।

चौरीदेउराली गाउँपालिकाले व्यावसायिक खेतीलाई प्राथमिकता दिँदै आएको छ। साथै सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण गरिएको उल्लेख गरिएको छ।

तेमाल गाउँपालिकाले दक्ष जनशक्ति अभावका बाबजुद पनि सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्‍याउने कामलाई निरन्तरता दिइरहेको छ।

कार्यक्रममा जिल्लाभित्र रहेका संघीय तथा प्रदेश अन्तर्गतका विषयगत कार्यालयहरूको समेत वार्षिक प्रगति समीक्षा गरिएको थियो। कार्यक्रममा सहभागी सबै वक्ताहरूले जिल्लाको समग्र प्रगति र सहकार्यको भावना प्रशंसनीय रहेको भन्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाहका लागि स्थानीय तह, संघीय निकाय र नागरिकबीच सहकार्यको आवश्यकता रहेको बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर तामाङले स्वागत मन्तव्य दिनुभएको थियो भने सहभागीहरूले कार्यक्रमलाई सफल भएको प्रतिक्रिया दिएका थिए। 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।