२०८३-असार-१९ शुक्रबार

बिहानको ११:२५:२७

जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै पत्रकार नवराज बजगाईद्वारा सेवा घरका असहायलाई भोजन र खाद्यान्न सहयोग

नमनखबर डेस्क असार १९, २०८३ ७0
जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै पत्रकार नवराज बजगाईद्वारा सेवा घरका असहायलाई भोजन र खाद्यान्न सहयोग

काभ्रेपलाञ्चोक, असार १८

अग्रज पत्रकार तथा सामाजिक अभियान्ता नवराज बजगाईले आफ्नो जन्मदिनलाई पुनः एकपटक सामाजिक सेवासँग जोड्दै काभ्रेपलाञ्चोकको धुलिखेल–१२ स्थित मानव कल्याण समाजद्वारा सञ्चालित ‘सेवा घर’का वृद्धवृद्धा तथा असहायसँग मनाएका छन्। उनले ६० भन्दा बढी आश्रितलाई भोजन गराउनुका साथै खाद्यान्न, सरसफाइका सामग्री, फलफूल तथा लत्ताकपडा हस्तान्तरण गरेका हुन्।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, काभ्रेका पूर्व अध्यक्ष, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, अनलाइन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादकसमेत रहेका बजगाईले आफ्नो जन्मदिन (असार १८) तथा धर्मपत्नी तारा भट्टराईको जन्मदिन (असार २२) को अवसर पारेर उक्त सहयोग गरेका हुन्। उनले विगतका वर्षहरूमा पनि जन्मदिन तथा अन्य विशेष अवसरहरूमा सेवा घर र काभ्रेका विभिन्न आश्रमहरूमा सहयोग गर्दै आएका छन्।
यस अवसरमा बजगाईले सेवा घरका अभियान्ता सुरेश हुमागाईलाई चामल, आटा, दाल, तेल, नुन, चिनी, जिरा तथा अन्य मसला, बेसार, चियापत्ती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, ब्रस, फिनेल, सरफ, फलफूल, बिस्कुटलगायतका खाद्यान्न तथा सरसफाइका सामग्री र लत्ताकपडा हस्तान्तरण गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै बजगाईले सेवा घर स्थापना भएदेखि नै आफ्नो जन्मदिन यहीँ आएर मनाउने र सक्दो सहयोग गर्ने गरेको बताए। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजमा सकारात्मक संस्कार र सेवाभाव फैलाउने अवसरका रूपमा लिनुपर्ने उनको धारणा थियो। आफूले सुरु गरेको यो अभियानबाट प्रेरित भएर धेरैले जन्मदिन सेवा घर, आश्रम वा अन्य सामाजिक कार्यमार्फत मनाउन थालेको देख्दा खुशी लागेको उनले बताए।
धुलिखेल–१२ का वडा अध्यक्ष मोहनप्रसाद लामिछानेले यस्ता सहयोगी व्यक्तिहरूको निरन्तर साथले सेवा केन्द्र सञ्चालनमा ठूलो टेवा पुगेको बताए। उनले धुलिखेल नगरपालिका र वडा कार्यालयले पनि सेवा केन्द्रका लागि जग्गा तथा भवन उपलब्ध गराउँदै सहयोग गरिरहेको जानकारी दिए।
सामाजिक अभियान्ता राजन अधिकारीले मानव सेवा सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै समाजका सबै पक्षले यस्ता अभियानमा हातेमालो गर्नुपर्ने बताए। कार्यक्रममा समाजसेवी बोदनाथ बजगाई, रुपेश काफ्ले तथा सञ्चारकर्मी अरबिन्द्र गौतम र राज तिमल्सिनालगायतले शुभकामना व्यक्त गरेका थिए।
मानव कल्याण समाजले हाल देशभरका सात वटा सेवा केन्द्रमार्फत असहाय, बेवारिसे तथा सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकलाई आश्रय, उपचार र संरक्षण प्रदान गर्दै आएको छ। संस्थाका अनुसार सातै सेवा केन्द्रमा गरी करिब ३०० जना आश्रित रहेका छन् भने धुलिखेल सेवा घरमा मात्रै ६० जना आश्रित छन्।
समाजकी अध्यक्ष सुमित्रा चौलागाईका अनुसार करिब नौ वर्षअघि स्थापना भएको धुलिखेल शाखाले सडक तथा सार्वजनिक स्थलमा अलपत्र परेका, बेवारिसे र असहाय व्यक्तिहरूको उद्धार, संरक्षण तथा पुनःस्थापनामा निरन्तर काम गर्दै आएको छ। शाखा स्थापना भएदेखि नै पत्रकार नवराज बजगाईले प्रत्येक वर्ष आफ्नो जन्मदिन यहीँ आएर सामाजिक सेवामार्फत मनाउँदै आएका छन्।
व्यक्तिगत उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आएको बजगाईको यो अभियानले जन्मदिन मनाउने संस्कृतिलाई नयाँ आयाम दिएको छ। उनको निरन्तरको सेवाभावले समाजमा मानवीय संवेदना, सहयोग र सकारात्मक संस्कार प्रवर्द्धन गर्न प्रेरणा मिलेको सहभागीहरूले बताएका छन्।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।