पार्थली । सामुदायिक सेवा समाजले बेथानचोकका बाढीपीडित घरपरिवारलाई राहत प्रदान गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मैजुबहाल कुमारीगल स्थित संस्थाले बेथानचोक गाउँपालिका वडा नम्बर ४ का बाढीपीडडित घरपरिवारलाई खानेपानीको सुविधा पुनर्स्थापित गर्नका लागि खानेपानीको पाइप प्रदान गरेको हो ।
पीडामा रहेका यस क्षेत्रका स्थानीयहरूलाई दीर्घकालीन हिसाबले फरक सहयोग गर्ने निर्णयबाट खानेपानीको पाइप हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शिवराम अर्यालले बताउनुभयो ।
सामुदायिक सेवा समाज र सामुदायिक योग समूहको सहकार्यमा २०८१ मा देउसीभैलोबाट उठेको रकम संकलन गरि बेथानचोक-४ का ३० घरपरिवारलाई २ हजार मिटर खानेपानी पाइप वितरण गरिएको हो । वितरण गरिएको पाइपको उच्चतम सदुपयोग हुने अपेक्षा संस्थाको छ ।
मैजुबहाल कुमारीगलमा रहेको सामुदायिक भवनमा देउसीभैलो कार्यक्रमबाट ८० हजार ८ सय रकम संकलन भएको थियो । संकलित रकमबाट पाइप खरिद गरि हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष अर्यालले बाढीपहिरो पीडितको दु:खमा मल्हम लगाउन पाउदा आफ्नो टिम हर्षित भएको बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले सामुदायिक सेवा समाजमा १३ जनाको कार्यसमिति रहेको जानकारी दिनुभयो । ३०० भन्दा धेरै सदस्यहरू रहेको संस्थाले विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको र यसलाई निरन्तरता दिने बताउनुभयो ।
वितरित पाइपबाट स्थानीयले दोभानखोका, मुलखोला, कोप्चेखोला, लथङडाँडाका मुहानबाट खानेपानी ल्याइने बेथानचोक गाउँपालिका निवर्तमान वडाध्यक्ष लाल बहादुर श्रेष्ठ बताउनुहुन्छ ।
राहत सामग्री वितरण कार्यक्रममा बेथानचोक गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण बहादुर लामा, निवर्तमान वडाध्यक्ष लाल बहादुर श्रेष्ठ, स्थानीय, सामुदायिक योग समूहका सदस्यहरूको उपस्थिति रहेको थियो ।

0 Comments