पनौती - काभ्रेपलाञ्चोकको पनौतीमा ‘फुड बैंक’ सञ्चालनमा आएको छ । कृषकबाट संकलित तरकारी तथा फलफूललाई सुरक्षित प्रशोधन गरी उपभोक्तासम्म पुर्याउने उदेश्य सहित फुड बैंकको सुरुवात गरिएको हो । पनौती–४ ठाडोबाटोमा स्थापना गरिएको यो केन्द्रमार्फत उत्पादनदेखि उपभोगसम्मको श्रृंखलालाई न्युनीकरण गर्दै व्यवस्थित बनाउने लक्ष्य राखिएको छ । ताजा, स्वस्थ र विषादी अवशेष न्यून गरिएको खाद्य वस्तु उपलब्ध गराइने जनाइएको कम्पनीका अध्यक्ष विशाल हुमागाईले जानकारी दिए । यो काभ्रेपलाञ्चोक जिल्लामै पहिलोपटक ओजोन वास प्रविधि प्रयोग सहितको फुड बैंक हो।यस पहललाई अघि बढाएको राष्ट्रिय कृषि कम्पनी नेपालको सहायक कम्पनी आर.के.सि.एन.एल. फुड बैंक लिमिटेडले यही वैशाख ५ गते औपचारिक रुपमै फुड बैंकको सञ्चालन गर्नेछ । कम्पनीका अध्यक्ष हुमागाईले पत्रकार सम्मेलनमार्फत कार्यक्रमको उद्देश्य, प्रगति र भावी योजनाबारे जानकारी दिँदै ओजोनयुक्त पानी प्रयोग गरेर तरकारी तथा फलफूलमा रहेका जीवाणु नष्ट गर्ने, कीटनाशक अवशेष कम गर्ने र खाद्य पदार्थको शेल्फ लाइफ बढाउने प्रविधि अपनाइएको बताए।पहिलो चरणमा पनौती, बेथानचोकक र बनेपाका कृषकलाई समेटिएको छ भने आगामी चरणमा करिब ६० हजार कृषकसम्म कार्यक्रम विस्तार गर्ने लक्ष्य राखिएको अध्यक्ष हुमागाईले बताए । कम्पनीका प्रवन्ध निर्देशक सुदिप सापकोटाका अनुसार कृषक र उपभोक्ता दुवैलाई प्रत्यक्ष लाभ पुग्ने गरी संकलन, प्रशोधन र वितरणको प्रक्रिया एकीकृत ढंगले सञ्चालन गरिनेछ, जसले बजार व्यवस्थापन र गुणस्तर नियन्त्रणमा सहजीकरण गर्नेछ।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले दिगोपनाका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाए। धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जंगमले कृषि उत्पादनको गुणस्तरले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे । धुलिखेलमा अर्गानिक खुवा उत्पादन लगायतका उत्पादन गर्नुपर्नेमा सरोकारवालाको ध्यानाकर्षण समेत गराएका थिए । कार्यक्रम कम्पनीका सचिव विष्णु बरालको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, स्थानीय सञ्चारकर्मी र कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।कम्पनीले कृषकलाई समूहगत उत्पादनमा सहजीकरण, सहकारीसँग समन्वय, बजार व्यवस्थापन र बहुउद्देश्यीय उत्पादन प्रणालीमार्फत दिगो कृषि विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ। ओजोन वास प्रविधिको प्रयोगबाट उपभोक्ताले सुरक्षित, स्वास्थ्यकर र ताजा खाद्य पदार्थ उपभोग गर्न पाउने विश्वास व्यक्त गरिएको छ।
कृषकदेखि उपभोक्तासम्म एकीकृत प्रणाली: पनौतीको ठाडोबाटोमा फुड बैंक सञ्चालन
नमनखबर डेस्क
"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments