‘बिचौलिया’ को संज्ञा दिँदै गरिएको धरपकडको विरोधमा भु-सेवा बन्द गर्ने घोषणा

‘बिचौलिया’ को संज्ञा दिँदै गरिएको धरपकडको विरोधमा भु-सेवा बन्द गर्ने …

नमनखबर डेस्क - २०८२-१२-२३

लगनखेल, ललितपुर - प्रमाणपत्र प्राप्त लेखापढी व्यवसायी तथा भू–सेवा केन्द्र सञ्चालकहरूलाई “बिचौलिया”को संज्ञा दिँदै गरिएको धरपकडको घटनापछि पाटन इकाई समितिले विरोधस्वरूप कलमबन्द तथा भू–सेवा सञ्चालन बन्द गर्ने घोषणा गरेको छ। 
पाटन इकाई समितिका सचिव भरत घिमिरेद्वारा जारी विरोधपत्रमा मिति २०८२ चैत २२ गते भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरको प्राङ्गणबाट लेखापढी व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी परिसर जावलाखेलमा पु¥याइएको उल्लेख गर्दै घटनाप्रति खेद व्यक्त गरिएको छ।
समितिका अनुसार नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० तथा लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ बमोजिम अड्डा अदालतमा लेखापढी गर्न जिल्ला अदालतबाट प्रमाणपत्र प्राप्त व्यवसायीहरू र भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा जारी भू-सेवा केन्द्र सञ्चालन निर्देशिका २०७६ को नियम २३ (क) को उपनियम (५) अनुसार अनुमति लिई सेवा दिइरहेका व्यवसायीहरूमाथि विनाआधार “बिचौलिया”को आरोप लगाइएको दाबी गरिएको छ। यसले पेशागत मर्यादा र कानूनले प्रदत्त अधिकारमाथि आघात पुगेको समितिको भनाइ छ।
विरोधपत्रमा कानूनी आधारमा सेवा प्रवाह गरिरहेका व्यवसायीहरूलाई सम्बन्धित कार्यालय प्रवेशमै रोक लगाइनु र अपमानजनक व्यवहार गरिएकोप्रति आपत्ति जनाइएको छ। संवैधानिक तथा कानूनी हक अधिकारको प्रत्याभूति नहुँदासम्म सम्पूर्ण लेखापढी व्यवसायी तथा भू–सेवा केन्द्र सञ्चालकहरूले सेवा बन्द गरी विरोध जनाउन आह्वान गरिएको छ।
समितिले अर्को निर्णय नहुँदासम्म उक्त सूचनाको उल्लङ्घन गर्दै सेवा सुचारु गरेको पाइएमा सम्बन्धित सदस्यहरूमाथि समितिको विधान तथा नियमावलीअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, सूचनाविपरीत आफूखुशी सेवा सञ्चालन गर्ने सदस्यहरूलाई समितिको तर्फबाट कुनै सहयोग उपलब्ध नहुने र त्यसको जिम्मेवारी समितिले नलिने स्पष्ट गरिएको छ। समितिले सम्पूर्ण व्यवसायीहरूलाई संयुक्त रूपमा आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ।

not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments