दूध उत्पादक कृषकहरूलाई अनुदान रोशी गाउँपालिकाको प्रशंसनीय पहल

दूध उत्पादक कृषकहरूलाई अनुदान रोशी गाउँपालिकाको प्रशंसनीय पहल

अशोक बुद्ध लामा - २०८२-०३-१२



 

बागमती प्रदेश सरकारको सशर्त कार्यक्रम “दूध उत्पादन प्रोत्साहन कार्यक्रम” अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यक्रम अनुसार, रोशी गाउँपालिकाले दूध उत्पादनमा आधारित कृषकहरूलाई प्रति लिटर ५ रुपैयाँको दरले अनुदान वितरण गर्न थालेको छ।

 

यस कार्यक्रमअन्तर्गत रोशी गाउँपालिका वडा नं ६ का करिब १५० जना कृषकहरूलाई करिब २० लाख रुपैयाँ बराबरको रकम वितरण गरिँदैछ। अनुदान वितरणको समन्वय तथा सहजीकरण गाउँपालिका पशु शाखा मार्फत गरिएको हो।

 

यस अवसरमा वितरण कार्यक्रम वडा नं ६ का वडा अध्यक्ष श्री नारायणबहादुर शिवाकोटीज्यू र पशु शाखाका प्राविधिक श्री विक्रम केसीज्यूको रोहबरमा, विभिन्न संकलन केन्द्र तथा निजी फर्महरूका संयोजकत्वमा सम्पन्न भइरहेको छ।

 

वडा अध्यक्ष शिवाकोटीज्यूले समग्र वडा नं ६ का सम्पूर्ण कृषकहरूलाई समेट्ने गरी भविष्यमा थप पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। उहाँले संकलन गर्ने संस्थाहरूले आफ्नो संस्था विधिवत दर्ता गरी कृषकलाई दिनुपर्ने सुविधा पाउन बाधा नपरोस् भनेर आग्रह गर्नुभएको छ।

 

हाल वडा नं ६ का जम्मा चारवटा संकलन केन्द्र मात्र क्राइटेरियामा परेका छन्, जसलाई सो अनुदान प्राप्त भएको हो। आगामी दिनमा बाँकी केन्द्रहरूलाई समेत सहभागी गराउने र कृषकले पाउने अधिकार सुनिश्चित गर्ने वचन अध्यक्षज्यूले दिनुभएको छ।

 

यस कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासनिक प्रमुख, पशु शाखा लगायत सम्पूर्ण स्थानीय नेतृत्वले सक्रियता देखाएकोमा कृषकहरू धन्यवाद व्यक्त गरिरहेका छन्। किसानहरूले यसपालि साँच्चै "सरकार हामीसँगै छ" भन्ने अनुभूति गरेका छन्


not-found

अशोक बुद्ध लामा

समाचारदाता

0 Comments