"सर्बोच्चको आदेशले रोकेको पुण्यमति करिडोर: मुआब्जा बिना सडक निर्माण बन्द, जनप्रतिनिधिका तीखा धारणा"

"सर्बोच्चको आदेशले रोकेको पुण्यमति करिडोर: मुआब्जा बिना सडक निर्माण बन्द, …

नमनखबर डेस्क - २०८२-०३-०२

काभ्रे, बनेपा । बनेपा नगरपालिका–८ को पुण्यमति करिडोरमा अब सडक निर्माण नहुने भएको छ। सर्बोच्च अदालतले जग्गाधनीको पक्षमा फैसला सुनाउँदै मुआब्जा नदिई निर्माण कार्य अघि नबढाउन निर्देशन दिएपछि योजना रोकिएको हो।

बनेपा–८ मा आयोजित आर्थिक वर्ष २०८२/०८३ को वडा-स्तरीय योजना तथा सुझाव संकलन कार्यक्रममा बोल्दै वडाध्यक्ष शुभ लक्ष्मी मानन्धरले नागरिकको आवाज नसुनी सरकारले जबर्जस्ती गर्दा करिडोर रोकिएको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, "म पनि जनप्रतिनिधि हुनु अघि मुआब्जाको माग गर्ने नागरिक थिएँ। विकासविरोधी होइन तर जनतालाई अन्यायमा पारेर हुने विकास दीर्घकालीन हुँदैन।"

मानन्धरले नगरपालिकाले मुआब्जा सुनिश्चित नगरेमा करिडोरका लागि आएको बजेट फिर्ता जान सक्ने चेतावनी दिनुभयो। उहाँका अनुसार अरनिको राजमार्ग विस्तार पनि पूल बजार क्षेत्रमा स्थानीयको अवरोधले रोकिएको छ।

कार्यक्रममा अध्यक्ष मानन्धरले खानेपानी, जल-जमिन-जंगल जस्ता साझा समस्यालाई चुनावी नारामा मात्र सीमित नराखी स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। उहाँले वडामा रहेका खोलामा अन्य वडाबाट ढल मिसिएकोले ८ नम्बर वडाले बढी असर बेहोर्नु परेको स्वीकार गर्नुभयो।

एकीकृत खानेपानी योजनाबाट लाभ उठाउन पहल गरिए पनि संरचना क्षति र विपदले कार्य रोकिएको जनाउँदै उहाँले हिले र जलजले क्षेत्रबाट पानी ल्याउन बनेपाले सक्रिय प्रयास गरिरहेको बताउनुभयो।

स्वास्थ्यको सन्दर्भमा वडामा दैनिक २ जनासम्म क्यान्सर रोगी भेटिन थालेको तथ्यले आफुलाई दुःखित बनाएको अनुभव उहाँले सुनाउनुभयो। फोहोरमैला व्यवस्थापनमा वासिन्दाले सक्रिय भुमिका खेल्नुपर्ने उल्लेख गर्दै टोल विकास संस्था अनिवार्य दर्ताको आग्रह गर्नुभयो।

उहाँले पशुहरूका लागि लम्पी स्किन रोगको खोप नआएकाले वडाले नै बीमा गरेको र जानकारीमूलक कार्यक्रममार्फत जनचेतना बढाइएको उल्लेख गर्नुभयो।

कौशी खेती, तालीमहरू, र महिलाको आत्मनिर्भरताको सन्दर्भमा समेत चर्चा गर्दै उहाँले अर्गानिक तरकारीप्रति आकर्षण बढेको, बजारमा साग, धनियाँ, खुर्सानी छाडिएको अनुभव पनि सुनाउनुभयो। हाट बजार सञ्चालनबारे केही विरोध आए पनि रोजगारीको अवसरले बहुसंख्यक स्थानीय खुसी भएको बताउनुभयो।

कार्यक्रममा वडाबासी, विभिन्न दलका प्रतिनिधि, टोल विकास संस्था र सुधार समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आफ्ना टोल र वडाका समस्याहरू राख्दै समाधानको माग गरेका थिए ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments