धुलिखेल, काभ्रेपलाञ्चोक। 'सुरक्षित उत्पादनः विश्वस्त उपभोक्ता' भन्ने नारासहित आज विश्व उपभोक्ता अधिकार दिवस २०८२ मनाइएको छ ।
उद्योग तथा वाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा राष्ट्रिय उपभोक्ता मञ्च काभ्रेको समन्वयमा उपभोक्ता अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यालय प्रमुख रविन घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईं प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा बोल्दै गुरागाईंले जिल्लाका विभिन्न क्षेत्रमा नियमित बजार अनुगमन भइरहेको र पटक–पटक सचेत गराउँदा पनि नसच्चिने उद्योगी–व्यवसायीलाई कानुनअनुसार कारबाही गरिएको बताउनुभयो।कार्यक्रममा घिमिरेले उपभोक्ता अधिकार, उत्पादक र विक्रेताको दायित्व तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिनुभएको थियो।
कार्यक्रममा प्रस्तुति दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रमुख मनिषा चापागाईंले बजार अनुगमनका क्रममा कैफियत देखिएका केही व्यवसायीविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो। साथै खाद्य वस्तुको गुणस्तर कायम राख्न सुरक्षित भण्डारण जस्ता विषयवस्तुहरू महत्वपूर्ण हुने बताउनुभयो ।
काभ्रे उद्योग वाणिज्य संघका उपाध्यक्ष रविन्द्र बैदारले ठुलाठुला उद्योगी , उत्पादक कम्पनीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
उपभोक्ता मञ्च काभ्रेपलाञ्चोकका सचिव प्रकाश तिमल्सिनाले उपभोक्ता सजग भई वस्तुको उत्पादन मिति, म्याद सकिने मिति लगायतका महत्वपूर्ण विषयमा विक्रेतासँग सवालजवाफ गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उपभोग्य समाग्री सम्बन्धी गुनासो,उजुरी जिल्ला प्रशासन कार्यालय, जिल्लास्थित उद्योग तथा वाणिज्य कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रक डिभिजन कार्यालय मध्ये कुनै एकमा गर्न सकिने जानकारी दिइएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्था, उद्योगी–व्यवसायी, उद्यमी महिला, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेलगायत सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

0 Comments