बनेपा नगर सभापतिमा राम जोशीको उम्मेद्वारी घोषणा
बनेपा । नेपाली कांग्रेसका नेता राम जोशीले बनेपा नगर सभापति पदमा उम्मेद्वारी घोषणा गरेका छन्। वि.सं. २०४९ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्य रहँदै राजनीतिक अभियानमा होमिएका जोशीले पार्टीको संगठन विस्तार र सुदृढीकरणमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
वडा सभापति हुँदै नगर सभापति समेतको जिम्मेवारी सम्हालिसकेका जोशीले नेता–कार्यकर्ता तथा आम नागरिकबीच समन्वय र सहकार्य गर्दै संगठनलाई अघि बढाउन आफूले भूमिका खेल्दै आएको बताएका छन्।
उम्मेद्वारी घोषणा गर्दै जोशीले नेपाली कांग्रेसको संगठनलाई थप मजबुत, सुदृढ र सबैले गर्व गर्न योग्य दल बनाउने अभियानमा आफ्नो तर्फबाट योगदान दिने बताएका छन् । बनेपा नगरबासीको भावनालाई समेट्ने गरी नेपाली कांग्रेस दलमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले जेनजी पुस्तासहित युवा, प्रौढ तथा ज्येष्ठ नागरिकको भावना समेटेर पार्टीलाई सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने कार्यतालिका बमोजिम नेपाली कांग्रेस बनेपा नगर अधिवेशन हुन लागेको हो । बनेपा नगर सभापति पदको लागि जोशीसहित ५ जना प्रत्याशी रहेका छन् ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।