२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

प्रधानमन्त्री शाह र बागमतीका सांसदबीच विकास प्राथमिकतामाथि छलफल

नमनखबर डेस्क बैशाख ०३, २०८३ १९
प्रधानमन्त्री शाह र बागमतीका सांसदबीच विकास प्राथमिकतामाथि छलफल
काठमाडौँ, ३० चैत - प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल गर्नुभएको छ। छलफलमा चालु आर्थिक वर्ष २०८२/८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन र सामाजिक क्षेत्रका विषयमा केन्द्रित कुराकानी भएको छ। सांसदहरूले आ–आफ्ना निर्वाचन क्षेत्रका समस्या, सम्भावना र प्राथमिक योजनाहरू प्रस्तुत गर्दै क्षेत्रगत माग तथा सुझावहरू राख्नुभएको छ।
धादिङ–१ का सांसद आशिका तामाङले सिसडोल र बन्चरेडाँडामा आधुनिक फोहर व्यवस्थापन प्रणाली लागू गर्न, सवारी प्रदूषण नियन्त्रणका लागि ‘ग्रिन स्टिकर’को प्रभावकारी अनुगमन गर्न र चेपाङ तथा तामाङ समुदायका लागि विशेष शिक्षा प्याकेज ल्याउन माग गर्नुभएको छ। उहाँले सीतापाइला–धार्के वैकल्पिक मार्गलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सिन्धुपाल्चोकका सांसद युवराज दुलालले बाँदर नियन्त्रणसम्बन्धी कानुन निर्माण, मेलम्ची र इन्द्रावती नदी किनारका जोखिमयुक्त बस्ती संरक्षण र मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित भुक्तानी समस्या समाधान गर्न आग्रह गर्नुभएको छ।
काभ्रेपलाञ्चोकका सांसद बदनकुमार भण्डारीले सुनकोशी–३ जलाशययुक्त आयोजना अगाडि बढाउन, धुलिखेललाई बागमती प्रदेशको राजधानीका रूपमा विकास गर्न, अरनिको राजमार्ग चार लेनमा विस्तार गर्न र पाँचखालमा क्षेत्रीयस्तरको विशिष्टकृत अस्पताल स्थापना गर्न माग गर्नुभएको छ।
चितवन–1 का सांसद हरि ढकालले राप्ती नदी किनारमा साइकल लेनसहितको सफारी मार्ग निर्माण, सिँचाइ विस्तारका लागि ‘हाई ड्याम’ निर्माण र सौराहामा अनलाइन टिकट प्रणाली लागू गर्न सुझाव दिनुभएको छ।
काठमाडौँ–४ का सांसद पुकार बमले पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयन, पारदर्शिता अभिवृद्धिका लागि ‘नेसनल बजेट ड्यासबोर्ड’ निर्माण र एकीकृत पूर्वाधार विकास ऐन ल्याउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले चाबहिलमा फ्लाइओभर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकीले जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्न रोजगारी सृजना, ठोसे शिवालय जलाशययुक्त आयोजना प्राथमिकतामा राख्न र अलपत्र सडक आयोजना समयमै सम्पन्न गर्न सरकारसँग आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका विषयहरूलाई बजेट र प्राथमिकताका आधारमा क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै बागमती प्रदेशको समग्र विकासलाई तीव्रता दिने निष्कर्षसहित बैठक सम्पन्न भएको छ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।