बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
काठमाडौं - बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुधार गर्ने उद्देश्यले सरकारले आगामी कात्तिक १७ र १८ गते देशव्यापी रूपमा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस चरणमा करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ ।
सामान्यतया कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको यस कार्यक्रम दशैं पर्वका कारण पछाडि सरेको हो । स्वास्थ्य सेवा विभागका अनुसार भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १ वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइनेछ ।
कार्यक्रम सफल बनाउन करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने जनाइएको छ । उनीहरूमार्फत बालबालिकालाई आवश्यक औषधि उपलब्ध गराउनुका साथै अभिभावकलाई बालस्वास्थ्य र पोषणसम्बन्धी सचेतना प्रदान गरिने अपेक्षा गरिएको छ ।
सरकारले बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुने समस्या, कुपोषण तथा जुकाको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न लामो समयदेखि यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । नेपालमा २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालिएको हो । नियमित कार्यक्रमले बालबालिकाको स्वास्थ्य सुरक्षा र पोषण सुधारमा योगदान पु¥याउँदै आएको छ । सरकारले निर्धारित मितिमा आफ्ना बालबालिकालाई नजिकको तोकिएको केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।