विश्व जनसंख्या दिवसको पूर्वसन्ध्यामा धुलिखेलमा जनसंख्या तथा स्वास्थ्य विषयक अन्तरक्रिया
धुलिखेल — विश्व जनसंख्या दिवस २०२६ को पूर्वसन्ध्यामा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले जनसंख्या तथा स्वास्थ्य विषयक समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
धुलिखेल नगरपालिकाका कार्यवाहक नगरप्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता तथा जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोककी प्रमुख डा. रागिश्री कक्षपतिको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाको वर्तमान जनसंख्या अवस्था, चुनौती र स्वास्थ्यसँगको अन्तरसम्बन्धबारे छलफल गरिएको थियो।
कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालयका तथ्याङ्क समन्वय अधिकारीले जिल्लाको जनसंख्या अवस्थासम्बन्धी तथ्याङ्कसहितको प्रस्तुति राख्नुभएको थियो। प्रस्तुतीकरणपछि सहभागीहरूबीच जनसंख्या व्यवस्थापन, तथ्याङ्कको उपयोगिता तथा नीति निर्माणमा यसको भूमिकाबारे अन्तरक्रिया भएको थियो।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद न्यौपाने, सचिव नगेन्द्र अधिकारी, कोषाध्यक्ष केशवराज पौडेललगायत सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो। सो अवसरमा कोषाध्यक्ष पौडेलले जनसंख्या तथा तथ्याङ्कको महत्वबारे आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दीपेन्द्रकाजी श्रेष्ठले गर्नुभएको थियो।
हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाइन्छ। दिवसका अवसरमा जनसंख्या, प्रजनन स्वास्थ्य, दिगो विकास तथा जनचेतना अभिवृद्धिसँग सम्बन्धित विभिन्न कार्यक्रम आयोजना गरिने गरिन्छ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।