शिक्षामन्त्रीद्वारा नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान
काठमाडौँ - शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अल्ट्रा धाविका सुनमाया बुढालाई सम्मान गर्नुभएको छ ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गर्नुभएको हो । सो अवसरमा मन्त्री पोखरेलले विश्वस्तरका खेलकुद प्रतियोगितामा नेपाली खेलाडीहरूले हासिल गरेको सफलताले नेपालको पहिचान र गौरव बढाएको बताउनुभयो । उहाँले खेलाडीहरूको सफलताले राष्ट्रिय एकताको भावना बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
शिक्षामन्त्रीबाट सम्मान ग्रहणपछि अल्ट्रा धाविका बुढाले यस सम्मानबाट आफूलाई थप हौसला र ऊर्जा प्राप्त भएको बताउनुभयो ।
जुम्ला पातारासी गाउँपालिकाकी अल्ट्रा धाविका बुढाले हालै इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जित्दै नयाँ इतिहास रच्नुभएको थियो । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित १२० किलोमिटर दूरीको उक्त प्रतियोगितामा सुनमायाले १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गर्नुभएको थियो ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।