पूर्व फुटबल स्टार विशाल श्रेष्ठ राखेप उपाध्यक्ष
काठमाडौँ । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष पदमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठलाई नियुक्त गरेको छ। नेपाली फुटबलमा लामो समय योगदान पुर्याएका श्रेष्ठ अब देशको सर्वोच्च खेलकुद प्रशासनिक निकायको नेतृत्व तहमा पुगेका छन्।
राष्ट्रिय टोलीका भरपर्दा गोलकिपरका रूपमा परिचित श्रेष्ठले नेपाली फुटबलको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। अन्तर्राष्ट्रिय फुटबलबाट केही वर्षअघि सन्यास लिनुभएका उहाँलाई खेलकुद प्रशासनमा अनुभव र खेलाडीको दृष्टिकोणलाई संस्थागत रूपमा उपयोग गर्ने उद्देश्यले उपाध्यक्ष पदमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
यसैबीच, मन्त्रालयले विभिन्न खेल विधाको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यसहित राखेप बोर्डमा चार जना सदस्य पनि नियुक्त गरेको छ। नियुक्त हुनेहरूमा टेबलटेनिस खेलाडी सिक्का सुवाल, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा प्रशिक्षक शक्ति गौचन, बुद्धिचाल खेलाडी मोनालिसा खुम्बु र फुटबल खेलाडी पवन शाही रहेका छन्।
खेलकुद प्रशासनमा प्रत्यक्ष खेल अनुभव भएका व्यक्तिहरूको सहभागिता बढाउने सरकारको प्रयासअन्तर्गत यी नियुक्तिहरू गरिएको बताइएको छ। नवनियुक्त पदाधिकारीहरूले खेलकुद क्षेत्रको विकास, सुशासन, व्यवस्थापन तथा नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।