२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

सामाजिक उत्तरदायित्वमा बुडोल सामुदायिक साकोस: २७५ जेष्ठ सदस्यलाई तीर्थाटन

नमनखबर डेस्क पुस ११, २०८२ २१२
सामाजिक उत्तरदायित्वमा बुडोल सामुदायिक साकोस: २७५ जेष्ठ सदस्यलाई तीर्थाटन
बनेपा । काभ्रेपलाञ्चोकको बुडोलमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले ६० वर्ष उमेर पूरा गरेका आफ्ना जेष्ठ सदस्यहरूका लागि तीर्थाटन कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाले वार्षिक कार्यक्रमअन्तर्गत बिहीबार काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित निर्माणाधीन चारधाम तीर्थस्थल शान्तिधाममा तीर्थाटन गराएको हो। कार्यक्रममा २७५ जना जेष्ठ नागरिक सदस्यहरूको सहभागिता रहेको थियो ।
तीर्थाटनका क्रममा सहभागीहरूलाई धार्मिक प्रवचन,  भजन–किर्तन तथा भोजनको व्यवस्था गरिएको थियो। कार्यक्रम संस्थाको महिला तथा सामाजिक–सांस्कृतिक उपसमितिको आयोजनामा सम्पन्न भएको हो।
संस्थाले विगत तीन वर्षदेखि निरन्तर रूपमा ६० वर्ष उमेर पूरा गरेका सदस्यहरूलाई लक्षित गर्दै यस्तो तीर्थाटन कार्यक्रम आयोजना गर्दै आएको उपाध्यक्ष प्रकाश भुर्तेलले जानकारी दिनुभयो।
कार्यक्रमप्रति जेष्ठ सदस्यहरूले खुसी व्यक्त गरेका छन्। धुलिखेलका जेष्ठ सदस्य अच्यूतप्रसाद बडालले संस्थालाई आफ्नै घरजस्तै अनुभूति भएको बताउँदै यस्ता कार्यक्रमले आत्मीयता बढाएको उल्लेख गर्नुभयो।
धुलिखेल नगरपालिका चंखुवेँसीका सदस्य कृष्णप्रसाद सापकोटा पनि कार्यक्रममा सक्रिय सहभागिता जनाउनुभयो। भजन–किर्तनमा सहभागी हुनुभएको उहाँले चारधाम निर्माणका लागि आफ्नो तर्फबाट आर्थिक सहयोगसमेत गर्नुभएको थियो । ८० वर्ष उमेर पार गरिसक्नुभएका उहाँले संस्थाले जेष्ठ नागरिकप्रति देखाएको माया र सम्मानप्रति खुसी व्यक्त गर्नुभयो।
बनेपा नगरपालिका–१० का सदस्य हर्कबहादुर खड्काले पनि कार्यक्रमले नयाँ ठाउँ घुम्ने अवसर प्रदान गरेको भन्दै संस्थाले पुण्य कार्य गरेको बताउनुभयो। उहाँ अघिल्ला कार्यक्रमहरूमा समेत सहभागी रहँदै आउनुभएको छ।
तारकेश्वरमा निर्माणाधीन चारधाम परियोजनामा बद्रीनाथ, द्वारका, रामेश्वर र जगन्नाथपुरीको झल्को दिने संरचनाहरू निर्माण भइरहेका छन्। करिब १० वर्षअघि सुरु भएको निर्माणकार्य हालसम्म बद्रीनाथ मन्दिर लगभग सम्पन्न भइसकेको छ भने अन्य संरचनाहरू निर्माणाधीन छन्।
कार्यक्रमका क्रममा सहभागी धेरैजसो जेष्ठ नागरिकहरूले चारधाम निर्माणका लागि स्वेच्छिक आर्थिक सहयोग गरेका थिए। साथै, बुडोल सामुदायिक साकोसले संस्थागत रूपमा ११ हजार १०५ रुपैयाँ नगद दान गरेको उपाध्यक्ष भुर्तेलले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका विभिन्न सेवा केन्द्रहरूबाट पनि उल्लेख्य सहभागिता रहेको थियो ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।