२०८३-भदौ-०८ सोमबार

बिहानको ११:२५:२७

म बदलिएको होइन - संजय थोकर

अशोक बुद्ध लामा भदौ ०१, २०८३ २२६
म बदलिएको होइन - संजय थोकर

जिन्दगी कति लामो छ, कसैलाई थाहा हुँदैन। हामीसँग आज छ, भोलि हुन्छ भन्ने भरोसामा दिनहरू बिताइरहेका हुन्छौँ। तर कहिलेकाहीँ जीवनमा यस्तो क्षण आउँछ, जहाँ “भोलि भेटौँला” भन्ने शब्द नै अन्तिम शब्द बन्न पुग्छ।

आज संसार बदलिएको छ, तर म बदलिएको होइन, आफ्नै बाटो रोजेको मात्र हुँ। समय र परिस्थितिले मलाई बुझ्ने बनाएको छ। हिजो जसरी सबैको मन राख्न दौडिन्थेँ, आज आफ्नो मनलाई बुझ्न थालेको छु। म बदलिएको होइन, धेरै चोटपछि मुस्कुराउन सिकेको हुँ।

अब कसलाई कति नजिक राख्ने भन्ने सीमासमेत कोर्न थालेको छु। पहिला कसैले बोलाए पुग्थ्यो, आफ्ना दुःख–पीडा बिर्सिएर पनि दौडिन्थेँ। तर अब सोचेर पाइला चाल्छु, किनकि जीवनले मलाई गहिरो पाठ सिकाएको छ। सबैलाई साथ दिँदै हिँड्ने मानिस अन्ततः कहिलेकाहीँ आफैँ एक्लो हुने रहेछ।

म बदलिएको होइन, आफ्नै तरिकाले अगाडि बढेको मात्र हुँ। आफ्नै अनुभवले सिकाएको बाटोमा हिँड्दैछु। कसैप्रति गुनासो छैन, घृणा पनि छैन। जसले विगतदेखि वर्तमानसम्म साथ दिए, उनीहरूलाई हृदयदेखि सम्मान छ। जसले घात गरे, उनीहरूलाई पनि धन्यवाद—किनकि उनीहरूले नै मलाई कठोर बन्न र जीवन बुझ्न सिकाए।

आज म पहिलाजस्तो छैन, तर यसको अर्थ म खराब भएको होइन। म केवल यति बुझ्न थालेको छु कि आत्मसम्मान बेचेर कसैलाई साथ दिन सकिँदैन र आफ्नो शान्ति गुमाएर कसैलाई खुसी बनाउन पनि सकिँदैन।

म जहाँ छु, जसरी छु, आफ्ना विगतका घाउहरू बोकेरै छु। तर अब मेरो यात्रा अरूको इच्छा, अपेक्षा र निर्णयले होइन, मेरो आफ्नै सपना, विश्वास र निर्णयले तय हुनेछ।

म कसैलाई पछाडि पार्न कहिल्यै दौडिइनँ। म त सधैँ अरूलाई अगाडि बढाउन दौडिएँ। तर अबको यात्रा आफैँलाई जित्न दौडिने यात्रा हुनेछ।

यो यात्रा जहाँसम्म पुग्छ, त्यहाँसम्म म आफ्नै पाइला, आफ्नै विश्वास र आफ्नै सपना बोकेर पुग्नेछु।

म बदलिएको होइन,

धेरै सहेर, धेरै सोचेर र धेरै बुझेर

आफ्नो अस्तित्व जोगाउँदै आफ्नै तरिकाले अगाडि बढेको मात्र हुँ।

धन्यवाद।

संजय लामा थोकर

काभ्रेपलाञ्चोक जिल्ला

रोशी गाउँपालिका–८, किर्दाश

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।