काभ्रेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको छैटौँ अधिवेशन: घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
बनेपा, काभ्रेपलाञ्चोक
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, काभ्रे शाखाको छैटौँ जिल्ला अधिवेशन तथा बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। अधिवेशन बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले आ-आफ्नो कला संस्कृति संरक्षण, सम्बर्धन र प्रवर्धन गर्न आवश्यक रहेको औल्याए ।
कार्यक्रमको उद्घाटन सत्रमा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा, महासचिव शिव हमाल, वाग्मती प्रदेश अध्यक्ष बासु सिंखडा, वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटा, रामहरि न्यौपाने, नमराज ढुंगाना र डिएन दाहाललगायतको उपस्थिति थियो। उनीहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै लोकसंस्कृति र दोहोरी गीतको निरन्तर विकासका लागि सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।
उद्घाटन सत्रमा प्रतिष्ठित कलाकारहरूले लोकसंगीतका विभिन्न प्रस्तुति दिएका थिए। रमाइला दोहोरी, लोकगीत र नृत्य प्रदर्शनले कार्यक्रमको वातावरण झन् उत्साहपूर्ण बनेको थियो।
अधिवेशनको बन्दसत्र याङ्क प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भयो। सो अवसरमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा रमेश थापा, द्वितीय उपाध्यक्षमा नवराज फुयाँल, महिला उपाध्यक्षमा सृजना श्रेष्ठ, सचिवमा शिव तिमल्सिना, कोषाध्यक्षमा निसा घिमिरे, सहसचिवमा रमन तिमल्सिना र सह–कोषाध्यक्षमा यादव कोइराला निर्वाचित भएका छन्।
त्यस्तै सदस्यमा प्रमिला पाण्डे, गोमा खनाल, अम्बिका आचार्य, रमिला भुजेल, संगीता ढकाल, कविता बजगाई, भोजकुमार तिमल्सिना, श्यामकृष्ण सापकोटा, ठक्कर प्रसाद तिमल्सिना, जितमान न्द्र श्रेष्ठलामा, मच्छे, अमृता पौडेल र सुसन केसी चयन भएका छन्।
कार्यक्रमको सभापतित्व प्रतिष्ठानका निवर्तमान अध्यक्ष केदार न्यौपानेले गर्नुभएको थियो। उहाँले आफ्नो कार्यकालमा प्रतिष्ठानले जिल्ला स्तरमा गरेको योगदानको समीक्षा गर्दै नयाँ नेतृत्वलाई लोकदोहोरी क्षेत्रको प्रगतिका लागि निरन्तर काम गर्न आग्रह गर्नुभयो।
अधिवेशनका वक्ताहरूले लोक तथा दोहोरी गीत नेपाली संस्कृतिको जरा भएको उल्लेख गर्दै यस क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सबै पक्षले साथ दिनुपर्नेमा जोड दिएका थिए।
अधिवेशनले आगामी कार्यकालका लागि स्थानीय कलाकारहरूको सशक्तिकरण, मौलिक दोहोरी गीतको अभिलेखीकरण, नयाँ प्रतिभा खोजी र सांस्कृतिक कार्यक्रमहरूलाई प्राथमिकता दिने निर्णय गरेको छ।
कार्यक्रमको समापनमा सहभागी अतिथि र कलाकारहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा लोकदोहोरी प्रेमी, कलाकार, सञ्चारकर्मी र स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।