ज्ञानकुञ्जको छैटौँ रोडरेस सम्पन्न, खेलकुदमार्फत अनुशासन र सकारात्मक जीवनशैली प्रवर्द्धन
बनेपा, काभ्रेपलाञ्चोक । बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्वारा आयोजना गरिएको छैटौँ रोडरेस प्रतियोगिता २०८३ वैशाख २६ गते शनिबार सफलतापूर्वक सम्पन्न भएको छ । सकारात्मक सोच, दृढ इच्छाशक्ति र निरन्तर परिश्रममार्फत शैक्षिक क्षेत्रमा अग्रसर रहेको प्रतिष्ठानले एसईईपछि विद्यार्थीलाई खेलकुदमार्फत अनुशासन, स्वास्थ्य र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमको पहिलो चरणमा छात्राहरूको दौड बनेपाको तीनदोबाटोबाट सुरु भई चण्डेश्वरी मन्दिर परिक्रमा गर्दै प्रतिष्ठान परिसरमा पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रमको सुरुवात बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले गर्नुभएको थियो भने उद्घाटन राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अञ्जना रानामगरले गर्नुभएको थियो ।
कार्यक्रम प्रतिष्ठान सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न भएको हो ।दोस्रो चरणमा छात्रहरूको दौड पनौती बसपार्कबाट सुरु भई प्रतिष्ठानसम्म सम्पन्न भएको थियो । उक्त चरणको उद्घाटन पनि अध्यक्ष सुरकृष्ण वैद्यले गर्नुभएको थियो भने पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले रिबन काटेर प्रतियोगिताको सुरुवात गर्नुभएको थियो ।
समापन कार्यक्रम अध्यक्ष सुरकृष्ण वैद्यको सभापतित्वमा सम्पन्न भएको थियो । प्रमुख अतिथिका रूपमा श्री श्रीमेहर गण धुलिखेलका गणपति प्रमुख सेनानी झलक सुवेदी रहनुभएको थियो । प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्यले स्वागत मन्तव्य राख्दै शिक्षा समाज परिवर्तनको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै खेलकुदमार्फत विद्यार्थीलाई दुव्र्यसनबाट टाढा राख्दै स्वस्थ र अनुशासित जीवनतर्फ उन्मुख गराउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।
प्रतियोगितामा छात्रा तर्फ तुलसा गौतम (ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान) प्रथम, पार्वती श्रेष्ठ (ग्रे्सल्याण्ड मावि) द्वितीय र समिता अधिकारी (चण्डेश्वरी सृष्टिकान्त मावि) तृतीय भएका छन् । छात्र तर्फ अभिषेक जर्गा मगर (चण्डेश्वरी सृष्टिकान्त मावि) प्रथम, अनिस खत्री (शङ्खेश्वरी मावि) द्वितीय र दावा शेर्पा (सिद्धार्थ बनस्थली, पनौती) तृतीय भएका छन् ।विजेताहरूलाई क्रमशः प्रथमलाई रु. ३० हजार, द्वितीयलाई रु. २० हजार र तृतीयलाई रु. १० हजारसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा अञ्जना रानामगर, विद्यालय सञ्चालक आत्माराम थापा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, बनेपा नगर प्याब्सन अध्यक्ष महेन्द्र विष्ट, कलेज सहायक प्रमुख नवराज चौलागाईं, विद्यालय सहायक प्रिन्सिपल नमराज दाहाल, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रामेश्वर त्वाँती, जिल्ला ट्राफिक कार्यालय प्रमुख सन्तोष धजु, एपिएफ क्लबका व्यवस्थापक तथा अन्तर्राष्ट्रिय भलिबल रेफ्री सशस्त्र प्रहरी निरीक्षक विजय के.सी., विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाका प्रतिनिधिहरू तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
यो प्रतियोगिताले एसईईपछि खाली समयलाई सिर्जनात्मक, अनुशासित र स्वस्थ दिशामा उपयोग गर्न विद्यार्थीलाई प्रेरित गर्दै “स्वस्थ शरीर, उज्यालो भविष्य” भन्ने सन्देशलाई व्यवहारमा उतारेको आयोजकले जनाएको छ ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।