एसपी कोमल शाहको सरुवा, काभ्रे प्रहरीको कमाण्ड अब रविन कार्कीलाई
धुलिखेल । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रमुखमा प्रहरी उपरीक्षक रविन कार्की आउने भएका छन् । हाल कार्यरत प्रहरी उपरीक्षक कोमल शाहको सरुवा भएपछि कार्कीले काभ्रेपलाञ्चोकको प्रहरी कमाण्ड सम्हाल्ने भएका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले देशभर गरिएको प्रहरी अधिकारीहरूको सरुवाअन्तर्गत शाहलाई अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा सरुवा गरिएको हो । काभ्रेपलाञ्चोकमा सरुवा भएर आउन लागेका प्रहरी उपरीक्षक कार्की हाल काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा कार्यरत थिए । उनले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी सेवाको प्रभावकारिता अभिवृद्धिमा भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीको पनि सरुवा भएको छ । उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय मानव स्रोत व्यवस्थापन शाखा बनेपामा जिम्मेवारी दिइएको छ । त्वातीको स्थानमा प्रहरी नायब उपरीक्षक राकेश थापा आउने भएका छन् । थापा यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अन्तर्गत पिलर–२ डाँका, चोरी, आगजनी तथा सवारी साधन चोरी पैठारी शाखामा कार्यरत थिए ।
नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले एकैपटक देशभरका ४६ प्रहरी उपरीक्षक र १ सय ४९ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको जनाएको छ । प्रहरी महानिरीक्षकको २०८३ जेठ १ गतेको निर्णयअनुसार सरुवा भएका प्रहरी अधिकारीहरूले जेठ महिनादेखि नै नयाँ दरबन्दीबाट तलब तथा अन्य सेवा सुविधा पाउने व्यवस्था गरिएको जनाइएकाे छ ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।