काभ्रे । बेथानचोक गाउँपालिका वडा नं.६ महाङकालचौंर, भुग्देउ, थिंछापस्थित श्री धनलक्ष्मी देवी प्राथमिक विद्यालयमा अध्ययनरत ३८ जना सम्पूर्ण विदयार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । दलित विश्वकर्मा, तामाङ, ब्राह्मण,नेवार, गुरुङ समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन र गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन सोमबार लोकेश्वर मिडिया सर्भिस,पुतलीसडक,काठमाडौंको संयोजनमा नेपाल तामाङ घेदुङ इजरायलकी उपाध्यक्ष कुमारी गल्देन तामाङको आर्थिक सहयोगमा वडा सदस्य रीताकुमारी थापा बस्नेतको प्रमुख आतिथ्यमा शैक्षिक सामग्री वितरण समारोहको आयोजना गरेको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थबहादुर थिङ तामाङको सभाध्यक्षतामा आयोजित समारोहमा प्रमुख अतिथि एवं वडा सदस्य बस्नेतले विद्यार्थीहरुलाई कपि,पेन्सिल, इरेजर, स्केल, कटर लगायतका सामग्री वितरण गर्नु भएको थियो । विद्यालयका शिक्षक राजेन्द्र थापाले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा विद्यालयकी प्र.अ.रोजिना वाईबा तामाङ, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो ।

0 Comments