बेथानचोक गाउँपालिका–२ ढुंखर्कस्थित श्रीकृष्ण प्रणामी मन्दिर ढुंखर्क परिसरमा “श्री १०८ श्रीमत्तारतम सागर पाठ सप्ताह ज्ञान महायज्ञ तथा श्रीकृष्ण प्रणामी धर्म जागनी महा–महोत्सव” आगामी चैत २७ देखि वैशाख ३, २०८३ (१०–१६ अप्रिल २०२६) सम्म सात दिन आयोजना हुने भएको छ।
प्राकृतिक विपत्तिका कारण अघिल्ला दुई प्रयास स्थगित भएपछि यस वर्ष कार्यक्रम भव्य रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ सिङ्गो गाउँपालिका तयारीमा जुटेको आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमार्फत प्रचारप्रसार विभागका उप–संयोजक सन्तोष बजगाईंले वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विकास, नैतिक मूल्य–मान्यता तथा सांस्कृतिक परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको जानकारी दिए।
ढुंखर्क क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य पनि कार्यक्रमसँग जोडिएको उनले बताए।
कार्यक्रमको व्यवस्थापन अतिथि सत्कार उपसमितिका संयोजक बद्रीप्रसाद तिमल्सिनाको संयोजनमा गरिएको थियो भने आयोजक समितिका संयोजक गीता शर्माले स्थानीयवासीको सक्रिय सहभागितामा महोत्सव ऐतिहासिक रूपमा सफल हुने विश्वास व्यक्त गरिन्।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोकलाई धार्मिक पर्यटनका हिसाबले चिनाउन महोत्सव महत्वपूर्ण हुने बताउँदै गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग रहने र आफू प्रमुख यजमानको भूमिकामा रहने घोषणा गरे।
उपाध्यक्ष तारा राना तिमल्सिनाले शान्ति स्थापना र धार्मिक पर्यटनमार्फत आर्थिक गतिविधि बढाउन कार्यक्रम उपयोगी हुने उल्लेख गर्दै पूर्वाधार, आवास, खानेपानी, सुरक्षा, सरसफाइ र यातायात व्यवस्थापनमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिइन्।
महोत्सवमा श्रीकृष्ण प्रणामी धर्मका वर्तमान सतगुरु स्वरूप जगतगुरु आचार्य श्री कृष्णमणि महाराजश्रीको विशेष उपस्थिति रहनेछ र उहाँबाट नवनिर्मित मन्दिरको कलश अनावरण गरिने कार्यक्रम तय गरिएको छ। नेपालको केन्द्रीय धाम श्री नवतनधामका गाधिपति बाबाजी श्री १०८ अमृतराजजी महाराजबाट आशीर्वचन प्रदान हुनेछ भने महन्त स्वामी श्री १०८ पुरुषोत्तम महाराजजीको मुखारविन्दबाट श्रीमद् तारतम सागरको दिव्य कथा वाचन तथा आध्यात्मिक प्रवचन हुने कार्यक्रम छ।
विभिन्न परमहंस पीठका सन्त–महात्मा र अन्तर्राष्ट्रिय कलाकारहरूको भजन–कीर्तनले महोत्सवलाई थप गरिमामय बनाउने अपेक्षा गरिएको छ।महोत्सवअन्तर्गत चैत २६ गते बनेपा–९ नयाँवस्तीस्थित मन्दिरबाट ढुंखर्कसम्म मोटरसाइकल र्याली निकालिनेछ। चैत २७ गते १०८ कलश शोभायात्रासहित १०८ ब्रह्ममुनिबाट तारतम सागर पाठ पारायण गरिनेछ। चैत २८ गते रक्तदान कार्यक्रम, चैत ३० गते नवनिर्मित मन्दिरको कलश अनावरण र वैशाख १ गते व्रतबन्ध कार्यक्रम आयोजना गरिनेछ।
महोत्सव अवधिभर दिव्य कथा, सत्सङ्ग, वैदिक अनुष्ठान, अन्नप्राशन, चौरासी पूजा, गुन्यौचोली, तारतम मन्त्र प्रदान, आत्मजागनी, निःशुल्क स्वास्थ्य शिविर, सांस्कृतिक झाँकी तथा स्थानीय कला–संस्कृति प्रदर्शन जस्ता कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।ढुंखर्क क्षेत्र निजानन्द सम्प्रदायका सुन्दरसाथहरूको बाहुल्यता रहेको धार्मिक भू–भागका रूपमा परिचित छ।
साविक ढुंखर्क, च्याम्राङवेसी, च्यासिखर्क, महाकाल भुग्देउ र चलाल गणेशस्थान गाविस समेटेर बनेको बेथानचोक गाउँपालिकाको केन्द्र ढुंखर्क काठमाडौँबाट करिब ४३ किलोमिटर दूरीमा पर्छ। यस क्षेत्रबाट धर्म प्रचार–प्रसार सुरु भएको ऐतिहासिक मान्यता रहिआएको छ र विभिन्न गुरुजनहरूको योगदानले यहाँ धर्म जागरण अभियानलाई सुदृढ बनाएको इतिहास उल्लेखनीय छ।
पत्रकार सम्मेलनमा पूर्व गाउँपालिका अध्यक्ष, केन्द्रीय समितिका प्रतिनिधि, वडा अध्यक्ष तथा उपसमितिका संयोजकहरूको उपस्थिति रहेको थियो।
आयोजक समितिले देश तथा विदेशबाट आउने भक्तजन, धर्मप्रेमी, स्थानीयवासी तथा सञ्चारकर्मीलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ लिन र महोत्सवको प्रचार–प्रसारमा सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।

0 Comments