काठमाडौं — गृहमन्त्री सुधन गुरूङले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरी संगठनलाई अझ जनमुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउने स्पष्ट निर्देशन दिनुभएको छ। सीमित स्रोतसाधनका बाबजुद पनि नेपाल प्रहरीले प्रभावकारी कार्यसम्पादन गरिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा थप आत्मविश्वासका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। प्रधान कार्यालयमा गृहमन्त्रीलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको नेतृत्वमा वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। भ्रमणको प्रारम्भमा उहाँले परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो।
निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले प्रहरी सङ्ग्रहालय, डिजिटल फरेन्सिक ल्याब, Artificial Intelligence and Advanced Analytics Cell, डाटा सेन्टर र पोलीग्राफ सेक्सन अवलोकन गर्दै प्रविधिको प्रयोगमार्फत अनुसन्धान क्षमता र सेवा प्रवाह सुदृढ पार्नुपर्नेमा जोड दिनुभयो। उपलब्ध साधनस्रोतको उच्चतम उपयोग नागरिक सेवामा केन्द्रित गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी–नागरिक दूरी घटाउन शिष्ट बोली, मर्यादित व्यवहार र संवेदनशील सेवाको आवश्यकता औँल्याउँदै उहाँले नागरिकका समस्या छिटो, सरल र सम्मानजनक ढङ्गले समाधान गर्ने कार्यसंस्कृति विकास गर्नुपर्ने बताउनुभयो । प्रहरीको भूमिकामा कुनै पनि तहबाट हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी निर्वाहमा निर्धक्क हुन आग्रह गर्नुभयो।
विपद् व्यवस्थापनमा नेपाल प्रहरी अग्रपंक्तिमा रहने भएकाले संगठनलाई थप साधनस्रोतयुक्त बनाइने, समयानुकूल तालिमको व्यवस्था गरिने तथा वृत्ति विकास र कार्यसम्पादन मूल्याङ्कनलाई वैज्ञानिक प्रणालीमा आधारित बनाइने उहाँले उल्लेख गर्नुभयो। संगठन सुदृढीकरण, प्रविधिमैत्री संरचना विस्तार र परिणाममुखी कार्यदिशामा मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले खेलेको व्यावसायिक भूमिकाको प्रशंसा गर्दै बदलिँदो परिवेशअनुसार छिटो र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिनुभयो।
धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संविधान, कानुन तथा मानवअधिकारका मापदण्डभित्र रही “सत्य, सेवा, सुरक्षण”को मर्मअनुसार नेपाल प्रहरीले काम गरिरहेको बताउनुभयो। संगठनको क्षमता, मनोबल र साधनस्रोत अभिवृद्धिमा मन्त्रालयबाट प्राप्त मार्गनिर्देशनले थप ऊर्जा दिएको उहाँले उल्लेख गर्नुभयो। यसै क्रममा प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले संगठनको संरचना, जनशक्ति अवस्था, इकाईगत विस्तार आवश्यकता, अपराध अनुसन्धान तथ्याङ्क, ट्राफिक तथा विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय, इन्टरपोल शाखाका काम, वैदेशिक सहायता, चालु आर्थिक वर्षका प्रमुख कार्य, चुनौती र आगामी कार्यदिशाबारे संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृत, गृह मन्त्रालयका पदाधिकारी तथा देशभरका विभिन्न प्रहरी इकाइका प्रमुखहरूको भर्चुअल सहभागिता रहेको थियो।

0 Comments