जबरजस्ती करणी सम्बन्धी मुद्दामा फरार कैदी पक्राउ
धुलिखेल - जबरजस्ती करणी सम्बन्धी मुद्दामा १७ वर्ष कैद सजाय तोकिएका फरार कैदीलाई प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल बाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार रहेका प्रकाश २८ वर्षिय श्रेष्ठलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो। उनी सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका–१० निवासी हुन् ।
प्रहरीका अनुसार २०८२ माघ १२ गते अपराह्न करिब ४:३० बजे धुलिखेल नगरपालिका–४ स्थित काठमाडौं विश्वविद्यालय नजिक लुकीछिपी हिँडिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले फरार कैदीलाई पक्राउ गरेको हो।
प्राप्त विवरणअनुसार प्रकाश श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा आर्थिक वर्ष २०७६/०७७ मा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले उनलाई १७ वर्ष कैद सजाय सुनाएको थियो।
पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइने जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

0 Comments