नेपालको आफ्नै भु-उपग्रह राख्ने ओलीको घोषणा

no-image

नमनखबर - २०८१-०४-२९

काठमाडौं । नेकपा एमाले दलका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै भु-उपग्रह राख्ने योजना रहेको बताएका छन् । ओलीले संसदमा विश्वासको मत माग्दै सो योजना सुनाएका हुन् । 

यसअघि २०७४ मा ओली प्रधानमन्त्री हुँदा पनि तत्कालै नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गर्ने योजना सुनाएका थिए तर त्यो योजना अगाडि बढ्न सकेको थिएन। 

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८/७९ का लागि स्याटेलाइट परियोजनाका लागि ८० करोड रुपैयाँ बजेट समेत छुट्याएको थियो । तर, ओली नेतृत्वको सरकार ढलेलगत्तै यो योजना रोकिएको थियो ।

त्यसपश्चात नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेपछि आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा सरकारले नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया अघि बढाउने उल्लेख गरेको थियो । तर, सरकारले यो विषयलाई प्राथमिकतामा राखेर काम गरेन ।

नेपालको स्वामित्वमा रहेको आर्बिटल स्लट उपयोग गरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने ओलीले प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा जानकारी गराएका हुन् । जसबाट ब्याण्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम रोकिने ओलीले प्रष्ट्याएका छन् । अहिले नेपाली कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री भएको समयमा फेरि ओलीले यो विषयमा संसदमा बारम्बार जानकारी गराएबाट  नेपालले आफ्नै भुउग्रह पाउँदा खुसी हुने खबर छ भने यससम्बन्धी कानुन बनिनसकेको हुँदा त्यसमा प्रकृयागत ढिलाइ हुने आशंका छ । 

यसअघि सरकारले दूरसञ्चार सेवा, प्रसारण सेवा, प्रतिरक्षा प्रणाली, विभिन्न सूचना प्रणाली, विपद व्यवस्थापन र वातावरण तथा स्वास्थ्य लगायतका सेवाका लागि उपयोगी हुने गरी सन् २०२२ भित्रै आफ्नै स्याटेलाइट स्थापना गर्ने नीति लिएको थियो । यसले मुलुकभर सहज सञ्चार सुविधा पुग्ने, मौसम पूर्वानुमान र विपद व्यवस्थापन प्रभावकारी हुने र नेभिगेसन सेवा सञ्चालन गर्न सहज हुने सरकारको अपेक्षा थियो ।

तर, सरकारले स्याटेलाइट स्थापना र सञ्चालन र नियमनबारे अहिलेसम्म कानुनी व्यवस्था गरेको छैन । नेपालले आफ्नो ग्राउन्ड स्टेसन नहुँदा भारतले प्रक्षेपण गरेको सार्क स्याटेलाइटमा पाएको ३६ मेगाहर्जको ट्रान्सपोन्डर हिस्सा समेत उपयोग गर्न सकेको छैन । सञ्चार मन्त्रालयका एक अधिकारीका अनुसार अहिले मंगोलिया र बंगालदेशले आफैंले ठूलो लगानीमा प्रक्षेपण गरेका स्याटेलाइटलाई राम्रोसँग उपयोगमा ल्याउन सकेका छैनन् ।


not-found

नमनखबर

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments