– निङमर तामाङ(मेल्वन)
नेपालको राजनीतिक समयरेखा हेर्दा लाग्छ युग फेरिन्छ !तर चरित्रको स्वर र स्वाद कहिल्यै हराउँदैन। परिवर्तनको प्रत्येक
घोषणा पछाडि स्थायी परम्पराको सुगन्ध रहिरहन्छ सत्ताको मोह पदको प्रलोभन र जनताको मौन स्वीकृति पनि उस्तै छ !
मेरा हजुरबुबा भन्थे पञ्चायतकालमा रेडियो नेपालमा एउटा गीत खुब बज्थ्यो अरे चौतारीमा राजा भेटिए, भञ्ज्याङमा रानी भेटिइन्।’त्यो गीत केवल गीतमात्र थिएन त्यो शासन सत्ताको प्रतिमूर्ति थियो। त्यस चौतारीमा जनताको नजिकको राजाको कल्पना थियो जहाँ अधिकार कृपाको रूपमा बाँडिन्थ्यो र प्रजा आभारमा बाँच्छथ्यो।तर समयको गति अडिँदैन समय बलिवान शक्तिशाली हुन्छ। राजतन्त्र ढल्यो, संविधान फेरियो, र देशले ‘लोकतान्त्रिक गणतन्त्रको अध्याय खोल्यो। युगले रूप बदल्यो, तर यथार्थको रङ त्यही रह्यो। आज न चौतारीमा राजा भेटिन्छन न भञ्ज्याङमा रानी नै बरु जताततै गल्लीमा मन्त्री भेटिन थालेका छन्।सत्ता अब सिंहदरबारको सीमित घेरा पार गरेर जनताको टोलसम्म आइपुगेको छ तर जनताको हितभन्दा अघि पदको प्रदर्शन झन् व्यापक बनेको छ। लोकतन्त्रको भाषामा जनप्रतिनिधि भन्नाले ‘जनसेवक’ बुझिनुपर्ने हो तर व्यवहारमा तिनै जनसेवकहरू जनताको घाम र धुलोबाट टाढा चियापसल र भट्टीको राजनीतिक वृत्तमा सीमित छन्।
त्यो साँझको घटना म अझै बिर्सन सक्दिनँ गल्लीको मोडमा मोटरसाइकल रोक्दै उत्रिएका एक जना पाहुना देखेँ। वरिपरिका मानिसहरू फुसफुसाउँदै भने हाम्रै क्षेत्रका मन्त्रीसाहेब पनि आउनु भएछ त्यो दृश्य प्रतीक थियो सत्ताको अवतरण जनताको चौतारीमा होइन उपभोगको गल्लीमा थिए
म मुस्कुराएँ, हजुरबुबाको वाक्य सम्झिएँ युग बदलिन्छ तर चरित्र उस्तै रहन्छ। साँच्चै नाम मात्र बद्लिएका छन् राजाको मुकुट अहिले मन्त्रीको टोपीमा रूपान्तरित भएको छ दरबार अब सचिवालयको नाममा पुनःस्थापित छ र रानीहरू अब
राज्यमन्त्रीका हैसियतमा नयाँ सामाजिक प्रतिष्ठाको प्रतीक बनेका छन्।लोकतन्त्रले सत्ताको ढोका खोलेको छ तर प्रश्न अझै उस्तै छ को भित्र पस्दैछ? जनता कि पदमा रमाउनेहरू? लोकतन्त्रको आत्मा सहभागिता हो, तर अभ्यास प्रदर्शनमा सीमित छ। जनताको अधिकार नीतिगत कागजमा सीमित छ, जबकि सत्ताको लोभ गल्लीका गिलासमा चम्किरहेको छ।अब गीतका बोल पनि बदलिएका छन् गल्लीमा मन्त्रीभेटिए भट्टीमा राज्यमन्त्री भेटिइन्।”
यो पंक्ति व्यङ्ग्य मात्र होइन, समकालीन राजनीतिमा फैलिएको विडम्बनाको सामूहिक प्रतिबिम्ब हो।राजनीतिले रूप बदलेको छ, तर मनोविज्ञान उही छ। सत्ताको दर्शनमा ‘सेवा’ शब्द अझै पनि अलंकार बनेर बाँचिरहेको छ। राजनीतिक आचरणमा ‘जवाफदेहिता’ परिभाषाको विषय बनेको छ, व्यवहारको होइन।सचिन्तन दृष्टिले हेर्दा, सत्ता र जिम्मेवारीबीचको दूरी बढ्दै गएको छ। सत्तामा पुग्नेहरूको आकांक्षा जनतासँगको सम्बन्ध होइन, सत्तासँगको सहवासमा सीमित भएको छ। यही सहवास नै आजको लोकतान्त्रिक विडम्बना हो जहाँ सत्ता जनताको नाममा स्थापित हुन्छ, तर जनताको पहुँच बाहिर रहन्छ।अन्ततः, लोकतन्त्रले ढोका त खोलेको छ, तर ती ढोकाभित्र पस्नेहरूको मनोविज्ञान पुरानै छ। नाम फेरेका छन्, पदहरू बढेका छन्, तर चरित्रको नक्सा त्यही छ!जसले गल्लीमा मन्त्री र भट्टीमा राज्यमन्त्री भेटिन सक्छन्।राजनीतिका सबै परिवर्तनहरूको अन्त्यमा, केवल एउटै स्थायी सत्य बाँकी रहन्छ !मुकुट र टोपी फरक छन्, तर व्यबहार र अनुहारहरू उही छन्।

0 Comments