खल्ती र आइएमई पेको एकीकृत कारोबार सुरु: डिजिटल अर्थतन्त्रमा नयाँ उचाइ हाँसिल गर्ने अपेक्षा

खल्ती र आइएमई पेको एकीकृत कारोबार सुरु: डिजिटल अर्थतन्त्रमा नयाँ …

नमनखबर डेस्क - २०८२-०४-०१

काठमाडौं । नेपाली डिजिटल भुक्तानी क्षेत्रमा ऐतिहासिक परिवर्तन गर्दै आइएमई पे र खल्ती एकआपसमा मर्ज भई आज (साउन १ गते) बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबारको औपचारिक सुरुवात भएको छ।

दुई प्रमुख डिजिटल वालेटहरू एकीकृत भएसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’ को चुक्ता पूँजी ५४ करोड रुपैयाँभन्दा बढी रहेको छ। कम्पनीले देशभरका १ करोड २७ लाखभन्दा बढी सेवाग्राहीहरूलाई एउटै प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै नेपालकै सबैभन्दा ठूलो डिजिटल वालेटको रुपमा उभिएको जनाएको छ।

दुवै कम्पनीले राजधानीमा आयोजना गरिएको विशेष कार्यक्रममार्फत मर्जरको औपचारिक घोषणा गरेका हुन्।

एक दशकपछि एकीकरणमा पुगे दुई प्रतिस्पर्धी
झण्डै एक दशकदेखि अलग–अलग रूपमा डिजिटल भुक्तानी सेवा दिँदै आएका आइएमई पे र खल्ती अब एउटै छातामुनि समाहित भएका छन्।

आइएमई पे रेमिटेन्स सेवा, ब्याज दिने प्रणाली र इनड्राइभ भुक्तानी सुविधामा लोकप्रिय रहँदै आएको थियो भने खल्ती फिल्म टिकट बुकिङ, इभेन्ट टिकटिङ लगायत इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा आकर्षण कमाउँदै आएको थियो।

एकीकृत भएपछि यी दुवै कम्पनीका उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सुरक्षित र सरल बनाएर उपभोक्तामाझ पुर्‍याउने कम्पनीको योजना छ।

सेवाग्राहीहरूका लागि सुविधाजनक माइग्रेशन प्रक्रिया
मर्जरसँगै आइएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आइएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ। यस प्रक्रियामार्फत पुराना खातामा भएको रकम, ब्याज, रिवार्ड प्वाइन्ट र सम्पूर्ण विवरण नयाँ एपमा स्थानान्तरण हुनेछ।

खल्ती प्रयोगकर्ताहरूले भने एप अपडेट गरी नयाँ एकीकृत सेवा उपयोग गर्न सक्ने छन्।

लगानीकर्ता र नेतृत्व संरचना
आइएमई पे आइएमई ग्रुप अन्तर्गत सञ्चालित सेवा हो।
खल्ती चार जना सह–संस्थापकद्वारा सुरु गरिएको थियो भने पछि वल्डलिंक, त्रिवेणी ग्रुपजस्ता कर्पोरेट लगानीकर्ताहरू पनि आबद्ध भएका थिए।

नयाँ कम्पनी आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, साक्षरता अभिवृद्धि र वित्तीय समावेशीकरणमा ध्यान केन्द्रित गर्दै अगाडि बढ्ने जानकारी दिएका छन्।

आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्माले मर्जरले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।

खल्तीका अध्यक्ष मनोज कुमार अग्रवालले यो मर्जरलाई नेपाली डिजिटल वित्तीय क्षेत्रमा ऐतिहासिक कदम भन्दै यसले देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने बताएका छन्।

विगतका उपलब्धिहरू
आइएमई पेले 

Digital Services ICT Award 2024

HRM Award for Corporate Excellence (FinTech Category) 2023

Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award

प्राप्त गरिसकेको छ।

त्यस्तै, खल्तीले

WITSA Global Innovation & Tech Excellence Awards 2022

लगातार दुई वर्ष NCHL बाट ‘देशकै सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने सेवा प्रदायक’

नेपाल राष्ट्र बैंकबाट योगदानको कदरस्वरूप सम्मान प्राप्त गरिसकेको छ।

यस मर्जरसँगै डिजिटल अर्थतन्त्रमा नयाँ उचाइ हाँसिल गर्ने अपेक्षा गरिएको छ।  ‘खल्ती बाइ आइएमई’ नाममा प्रारम्भ भएको सेवा नेपालमा डिजिटल वित्तीय समावेशीकरणको महत्वपूर्ण आधार बन्ने विश्वास गरिएको छ।


not-found

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

0 Comments