भोटेकोशीमा युवाहरूको सक्रियता: वृक्षारोपण र बैठक सम्पन्न
भोटेकोशी, सिन्धुपाल्चोक — राष्ट्रिय युवा संघ नेपाल भोटेकोशी गाउँपालिकाको आयोजनामा आज वृक्षारोपण कार्यक्रमसहित संगठन सुदृढीकरणसम्बन्धी पहिलो बैठक उत्साहपूर्वक सम्पन्न गरिएको छ।
दिनेश न्यौपाने, उर्गेन लामा र साङ्गे शेर्पाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा भोटेकोशीका स्थानीय युवाहरूको सक्रिय सहभागिता देखिएको थियो। वातावरण संरक्षणको सन्देश दिनेसँगै कार्यक्रमले युवाहरूको सशक्तीकरण र संगठन विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य तथा नेकपा (एमाले)का जिल्ला सदस्य छिरिङ शेर्पाको उपस्थिति रहेको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सुरज लामा, पालिका कमिटीका पदाधिकारीहरू तथा अनेरास्ववियु सिन्धुपाल्चोकका विभागीय प्रमुख निशान परियार सहभागी हुनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका विभागीय प्रमुख निशान परियारले भन्नुभयो —
“विकास सहरमा बसेर सम्भव हुँदैन। परिवर्तन गाउँबाटै सुरु हुन्छ, जहाँ समस्या प्रत्यक्ष देखिन्छ। अब आदेश पर्खेर बस्ने होइन, अवसर यहीँ छ — युवाहरू सबै मिलेर स्थानीय स्तरमै काम गर्नुपर्ने समय आएको छ।”
युवा नेता दिनेश न्यौपानेले युवाहरू एकजुट भएमा समाज, गाउँ र अन्ततः देश नै परिवर्तन गर्न सक्ने विश्वास व्यक्त गर्दै भन्नुभयो —
“हामीजस्ता युवाहरू नै गाउँ–समाजको निर्माता हौं। सक्रिय भएर अघि बढ्न जरुरी छ।”
जिल्ला अध्यक्ष सुरज लामाले भने यस्ता कार्यक्रमहरू संगठन सुदृढीकरणको आधार भएको उल्लेख गर्दै भन्नुभयो —
“वृक्षारोपणजस्ता अभियान हरेक पालिकामा निरन्तर चलिरहनुपर्छ। संगठनको प्रभाव गाउँमै देखिनुपर्छ, आदेश कुर्दै बस्ने समय सकिएको छ।”
उहाँले जिल्लाभरिका पालिका कमिटीहरूलाई यस्ता अभियानमार्फत जनस्तरसँगको सम्बन्ध अझ प्रगाढ बनाउने अपिल गर्नुभयो।
कार्यक्रममा विभिन्न पालिकाबाट आएका युवा नेताहरूको उपस्थिति रहेको थियो भने वृक्षारोपण अभियान सफल रूपमा सम्पन्न गरिएको आयोजक टोलीले जानकारी दिएको छ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।