१३औँ राष्ट्रिय पोशाक तथा टोपी दिवसमा पत्रकार अरबिन्द्र गौतम सम्मानित
काठमाडौँ । १३औँ राष्ट्रिय पोशाक दिवस तथा टोपी दिवसको अवसरमा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका छन्। निरन्तर, जिम्मेवार र तथ्यपरक पत्रकारितामार्फत सामाजिक सरोकारका विषय उजागर गर्दै आएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान प्रदान गरिएको हो।
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री माननीय जगदिश खरेलले गौतमलाई सम्मान गर्नुभयो। सत्य, निष्पक्ष र उत्तरदायी पत्रकारितामा उहाँको योगदान उदाहरणीय रहेको आयोजक संस्थाले जनाएको छ।
यसअघि केही दिनअघि मात्रै काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारणसभामा पनि गौतम नगद र सम्मानपत्रसहित सम्मानित भएका थिए। एक साताभित्रै प्राप्त दोस्रो सम्मानले उहाँको पत्रकारिताको प्रभावलाई थप पुष्टि गरेको छ।
२०७० सालदेखि सञ्चालनमा आएको राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस अभियानले यस वर्ष १३ वर्ष पूरा गरेको छ। अभियानको उद्देश्य नेपाली राष्ट्रिय पोशाक, टोपी र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नु हो।
दिवसको अवसरमा पुस १६ गते साँझ बसन्तपुरमा सहिदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको थियो। पुस १७ गते बिहान पञ्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि निकालिएको थियो।
त्यसैदिन दिउँसो नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित मूल कार्यक्रममा विभिन्न क्षेत्रका योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।
कार्यक्रम संस्थापक तथा अध्यक्ष राजानन्द माण्डव्यको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा पत्रकार, कलाकार, लेखक, अभियन्ता तथा सामाजिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
दिवसले टोपी र सांस्कृतिक पहिचानमार्फत विश्वभरका नेपालीलाई एकताबद्ध गर्ने अभियानले नेपाली मौलिकता र राष्ट्रिय पहिचानलाई संरक्षण गर्दै अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।