२०८३-श्रावण-०९ शनिबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

युरोप भ्रमणमा विश्व दोङ, क्रोएसियाको जाग्रेबमा विशेष सांगीतिक प्रस्तुति

नमनखबर डेस्क साउन ०८, २०८३ ३४
युरोप भ्रमणमा विश्व दोङ, क्रोएसियाको जाग्रेबमा विशेष सांगीतिक प्रस्तुति

जाग्रेब – नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक विश्व दोङले आफ्नो युरोप भ्रमणअन्तर्गत क्रोएसियाको राजधानी जाग्रेबमा विशेष लाइभ कन्सर्ट प्रस्तुत गर्ने भएका छन्।

क्रोएसियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै कोशेली प्रोडक्सनको आयोजनामा साउन ३० गते (अगस्ट १५), शनिबार जाग्रेबस्थित बोगालो क्लबमा कार्यक्रम आयोजना हुन लागेको हो ।

आयोजकका अनुसार कन्सर्ट साँझ ५ बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विश्व दोङले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नुका साथै दर्शकसँग प्रत्यक्ष सांगीतिक अन्तरक्रिया गर्नेछन्।
नेपाली आधुनिक तथा सेलो शैलीका गीतमार्फत आफ्नो छुट्टै पहिचान बनाएका दोङका ‘हेर्दामा राम्री’, ‘धरान सहर’, ‘सेल्फी हानौँ’, ‘कहाँ पर्यो घर’ र ‘साइलो म चारघरे’ लगायतका गीत नेपाली स्रोतामाझ अत्यन्त लोकप्रिय छन्।
विदेशमा रहेका नेपालीलाई गुणस्तरीय सांगीतिक मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली भाषा, कला र संस्कृतिसँग भावनात्मक सम्बन्ध अझ सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कन्सर्टमा विश्व दोङको मुख्य सांगीतिक प्रस्तुतिसँगै अन्य कलाकारहरूको गायन, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति पनि समावेश गरिनेछ।
जाग्रेबको कार्यक्रम विश्व दोङको युरोप भ्रमणका प्रमुख आकर्षणमध्ये एक मानिएको छ। यसपछि रोमानियासहित अन्य युरोपेली मुलुकहरूमा पनि उनको सांगीतिक प्रस्तुति तय गरिएको आयोजकले जानकारी दिएको छ। यस भ्रमणले युरोपमा रहेका नेपाली समुदायमाझ नेपाली संगीतको पहुँच र लोकप्रियता थप विस्तार हुने अपेक्षा गरिएको छ।
कार्यक्रम आयोजक कोशेली प्रोडक्सनले विगतदेखि नै युरोपका विभिन्न देशमा नेपाली कलाकारहरूको सहभागितासहित सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ। यसअघि संस्थाले गायिका रचना रिमालको तीज विशेष सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको थियो। यसपटकको कन्सर्ट पनि त्यही बोगालो क्लबमा आयोजना हुँदैछ, जहाँ यसअघि रंगमञ्च नेपालको आयोजनामा गायिका मेलिना राईको नयाँ वर्ष २०८३ विशेष सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो।
यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी सम्बन्ध सुदृढ बनाउन, नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्न तथा नेपाली मौलिक संगीतको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।
आयोजकले क्रोएसियासहित आसपासका युरोपेली मुलुकमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी भई नेपाली संगीतको उत्सवलाई सफल बनाउन आग्रह गरेको छ । टिकट तथा सहभागितासम्बन्धी विस्तृत जानकारी भने आगामी दिनमा सार्वजनिक गरिने जनाएको छ ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।