शिक्षा र स्वास्थ्यसँगसँगै इसा मेमोरियल र शीर मेमोरियलबीच ऐतिहासिक सम्झौता
बनेपा- बनेपा नगरपालिका–५ स्थित शीर मेमोरियल एडभेन्टिस्ट अस्पताल र बनेपा नगरपालिका–६ स्थित इसा मेमोरियल स्कुलबीच स्वास्थ्य सेवा सम्बन्धी सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौताअनुसार स्कुलका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूले अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन् । अस्पतालले सबै प्रकारका उपचार तथा सहायक सेवामा १० प्रतिशतसम्म छुट दिनेछ भने औषधिमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यद्यपि अस्पताल बाहिर गरिने सेवा र केही विशेष सामग्री -जस्तैः अर्थोपेडिक इम्प्लान्ट) मा छुट लागू नहुने उल्लेख गरिएको छ ।
सम्झौतामा स्वास्थ्य सेवासँगै विभिन्न जनचेतनामूलक कार्यक्रम, कार्यशाला तथा सामुदायिक स्वास्थ्य सुधारका पहलहरूमा सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । यसबाट विद्यालय समुदायका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ ।
सम्झौतामा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर जी. गयारेस तथा विद्यालयका प्रबन्ध निर्देशक नारायण जोशीले हस्ताक्षर गरेका छन् । विद्यार्थीको सुरक्षा पहिलो प्राथमिकता भन्ने उद्देश्यका साथ, नेको इन्स्योरेन्स लिमिटेडको सहकार्यमा प्रत्येक विद्यार्थीका लागि रु. १,००,००० सम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइएको छ ।
यस पहलले विद्यार्थीहरूको सुरक्षित भविष्यप्रति प्रतिबद्धता झल्काउने र उनीहरूको हरेक पाइला सुरक्षित बनाउने प्रयासलाई अझ मजबुत बनाउने इशा मेमोरियल विद्यालयले जनाएको छ। यो कार्यले विद्यालय आफ्ना विद्यार्थी र शिक्षक कर्मचारीप्रति कति संवेदनशिल रहेको कुराको पुष्टि गरेको छ ।
ईसा मेमोरियल स्कुल काभ्रेमा सफलताको शिखरमा अघि बढेको स्कुल हो । भुकम्प प्रतिरोधी भवन, उच्च स्तरीय खाना, यथेष्ट पारिवारिक वातावरणसँगै उत्कृष्ट पढाई हुने भएकाले यो विद्यालयले अभिभावकको मन जित्दै आइरहेको छ ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।