पनौतीमा डिजिटल मार्केटिङ एण्ड क्रियटिभिटी तालिम
पनौती । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसर पारेर “सूचना प्रविधिको विस्तार : दिगो विकासको आधार” भन्ने मूल नारासहित “डिजिटल मार्केटिङ एण्ड क्रियटिभिटी” विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम
क्यान महासङ्घ काभ्रेपलाञ्चोक शाखाको आयोजना तथा
ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था, पनौतीमाको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रम २०८३ वैशाख १९ गते आयोजना गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि क्यान महासङ्घका केन्द्रीय उपाध्यक्ष शेखरनाथ दुलालले डिजिटल युगसँगै प्रविधिको बढ्दो प्रयोग, डिजिटल साक्षरता र बजार विस्तारका लागि डिजिटल मार्केटिङको महत्वबारे प्रकाश पार्नुभयो। वर्तमान पुस्ता अनलाइन माध्यमतर्फ बढी आकर्षित हुँदै गएको सन्दर्भ उल्लेख गर्दै उहाँले आगामी पुस्तालाई लक्षित गर्न डिजिटल मार्केटिङ अनिवार्य भइसकेको धारणा व्यक्त गर्नुभयो।
ज्योति मिर्मिरे सहकारीका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले डिजिटल सीप आजको आवश्यकता भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले व्यवसाय प्रवर्द्धन र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सिईओ दाहालले सहकारीमार्फत यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमका प्रशिक्षक तथा क्यान काभ्रे शाखाका सचिव केवल प्रसाद तिमल्सिना (राजकुमार) ले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै करिब ३० भन्दा बढी सहभागीलाई डिजिटल माध्यमबाट व्यवसाय प्रवर्द्धन, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, कन्टेन्ट निर्माण र डिजिटल ब्रान्डिङसम्बन्धी व्यावहारिक प्रशिक्षण दिनुभयो।
कार्यक्रममा विशिष्ट अतिथि सहकारीका अध्यक्ष उद्धव सापकोटा, क्यान महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त, सहकारीका कर्मचारी, क्यानका कार्यसमिति सदस्य, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तथा क्यान काभ्रे शाखा अध्यक्ष देवकी आचार्य दुलालले डिजिटल युगमा सीपमूलक तालिमको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रम सञ्चालन सहकारी संस्थाका प्रमुख ऋण अधिकृत पुरुषोत्तम दाहालले गर्नुभएको थियो ।
सहभागीहरूले प्रशिक्षणबाट प्राप्त ज्ञान दैनिक डिजिटल प्रयोग तथा व्यवसायिक गतिविधिमा अत्यन्त उपयोगी हुने प्रतिक्रिया दिँदै यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन हुनुपर्ने आवश्यकता औंल्याएका थिए ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।