पनौती नगरपालिका अनिवार्य तथा नि:शुल्क शिक्षा सुनिश्चित पालिका घोषित
पनौती । पनौती नगरपालिकाले ऐतिहासिक घोषणा गर्दै सम्पूर्ण बालबालिकालाई लक्षित गरी अनिवार्य तथा निशुल्क शिक्षा नीति लागू गरेको छ। "सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरिय शिक्षा प्राप्तिको सुनिश्चितता" भन्ने मूल नारासहित आयोजित भव्य कार्यक्रमले पनौतीलाई शैक्षिक रुपान्तरणतर्फको यात्रामा नयाँ आयाम दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले नगरप्रमुख रामशरण भण्डारीलाई औपचारिक प्रमाणपत्र हस्तान्तरण गर्दै यो पहललाई संविधानको मूर्तरूप भनेका छन्।
गौतमले पनौतीका शिक्षकहरूको समर्पणको खुलेर प्रशंसा गर्दै भन्नुभयो, "शिक्षकहरूको निष्ठा र मेहनतकै फलस्वरूप पनौतीका विद्यालयहरूले प्रभावशाली नतिजा हासिल गरेका छन्। अबको लक्ष्य भनेको उत्कृष्टता कायम राख्दै अझ माथि पुग्नु हो।"
नगरप्रमुख भण्डारीले घोषणा पत्र वाचन गर्दै शिक्षा सबै बालबालिकाको अधिकार हो भन्ने सन्देशलाई थप प्रस्ट तुल्याए। उहाँले शिक्षा क्षेत्रलाई समानता, समावेशिता र गुणस्तरको मूलधारमा अगाडि बढाइने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा विभिन्न वक्ताहरूले शिक्षा क्षेत्रमा भइरहेको परिवर्तनको अनुभव बाँडे। सामुदायिक विद्यालयका प्रतिनिधिले हालसम्म विद्यालयबाहिर रहेका २७ जना बालबालिकालाई पुनः विद्यालय फर्काउन सफल भएको जानकारी गराए। साथै, "पढ्दै–कमाउँदै" कार्यक्रममार्फत सीप र व्यवहारिक ज्ञानको अभावलाई सम्बोधन गर्न नगरले थप बजेट छुट्याएको उल्लेख गरियो।
शिक्षक महासंघ पनौतीका अध्यक्ष उद्वब बोलखेले फरक क्षमता भएका ४५ बालबालिकालाई विद्यालयमा भर्ना गराएकोमा सन्तोष व्यक्त गर्दै पनौतीलाई “शैक्षिक तथा खेलकुद हब” का रूपमा अगाडि बढाउने अठोट व्यक्त गर्नुभयो।
एकै साथ सार्वजनिक गरिएका तथ्यांक अनुसार, सामुदायिक विद्यालयतर्फ ९५% विद्यार्थी एसईईमा उतीर्ण भए भने निजी विद्यालयतर्फ मात्र ५८% उतीर्ण भएका छन्। २५ जना विद्यार्थी असफल भए पनि सम्बन्धित विद्यालयहरू अब "४ जिपिए अभियान" का साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।