नेपालमा चिकित्सा सेवा पर्यटन प्रवर्द्धन गर्न कार्यदल गठन गरिने
काठमाडौं - नेपाल सरकारले नेपाललाई क्षेत्रीय चिकित्सा सेवा केन्द्र (मेडिकल हब) का रूपमा विकास गर्ने लक्ष्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गरी आवश्यक काम अघि बढाउने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिवहरू, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्राप्त गर्न नेपाल आउने विदेशी बिरामीलाई लक्षित गरी चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। नेपालमा उपलब्ध विशेषज्ञ स्वास्थ्य सेवा, उपचारको गुणस्तर तथा तुलनात्मक रूपमा सुलभ लागतलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने सम्भावनाबारे समेत बैठकमा विचारविमर्श गरिएको थियो।
चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन आवश्यक नीतिगत तथा नियमनकारी संरचना निर्माण गर्ने विषयलाई प्राथमिकता दिइएको छ। यसअन्तर्गत अस्पतालहरूको सेवा गुणस्तर, पूर्वाधार तथा बिरामी सुरक्षासम्बन्धी मापदण्ड निर्धारण गर्ने विषयमा छलफल भएको छ। साथै, उपचारका लागि नेपाल आउने विदेशी बिरामी र उनीहरूका सहयोगीलाई सहज आवागमनका लागि मेडिकल भिसाको व्यवस्था गर्ने विषय पनि बैठकको छलफलमा समेटिएको थियो।
सरकारको यस पहलले स्वास्थ्य सेवालाई पर्यटनसँग जोड्दै मुलुकको अर्थतन्त्रमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। विदेशी बिरामीलाई आकर्षित गर्न सके विदेशी मुद्रा आर्जन बढ्नुका साथै स्वास्थ्य क्षेत्रमा लगानी, रोजगारी र विशेषज्ञ सेवाको विस्तारमा समेत सहयोग पुग्न सक्ने देखिन्छ।

त्यसैगरी, देशभित्रै गुणस्तरीय तथा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न सके नेपाली नागरिक उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न पनि यसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। नेपाललाई चिकित्सा सेवा पर्यटनको भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आवश्यक नीतिगत, संरचनागत र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।