काभ्रेपलाञ्चोकमा राष्ट्रिय आर्थिक गणना २०८२ बारे अन्तरक्रिया सम्पन्न
धुलिखेल - राष्ट्रिय आर्थिक गणना २०८२ को सन्दर्भमा जिल्ला आर्थिक गणना कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारालाई आत्मसात गर्दै सरकारले देशव्यापी आर्थिक गणना अभियान अघि बढाएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले व्यवसायी तथा उद्यमीहरूलाई सही र यथार्थ तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभयो। उहाँले नेपालमा अपेक्षित रोजगारी सिर्जना हुन नसक्नुको एउटा कारण व्यवसाय गरेर सुरक्षित रूपमा आर्थिक लाभ लिन र खर्च व्यवस्थापन गर्न सकिने वातावरण नबन्नु रहेको उल्लेख गर्नुभयो। सही विवरण उपलब्ध भए सरकारलाई प्रभावकारी नीति निर्माण गर्न सहज हुने उहाँको भनाइ थियो।
प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आर्थिक गणना समिति २०८२ का संयोजक गोपाल कुमार अधिकारीले सरकारले गर्न लागेको दोस्रो आर्थिक गणनामा नागरिक, व्यवसायी र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँका अनुसार यस गणनाबाट देशको आर्थिक नीतिले कुन–कुन क्षेत्र अघि बढेका छन् र मुलुकको समग्र आर्थिक हैसियत कस्तो छ भन्ने स्पष्ट जानकारी प्राप्त गर्न सकिनेछ।
व्यक्तिगत सूचना पूर्ण रूपमा गोप्य रहने उल्लेख गर्दै उहाँले भौतिक रूपमा विवरण संकलन गर्न नसकिने अवस्थामा इमेलमार्फत पनि विवरण संकलन गर्न सकिने जानकारी दिनुभयो।
काभ्रे उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्र बैदारले सत्यतथ्य विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो । गणना कार्यक्रमप्रति व्यवसायीहरूमा गोपनीयता भंग हुने आशंका रहेको उल्लेख गर्दै त्यसको सुनिश्चितता सरकारले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
होटल एसोसिएसन काभ्रेपलाञ्चोकका अध्यक्ष प्रल्हाद प्याकुरेलले आर्थिक गणनाबाट प्राप्त सूचकहरू निजी क्षेत्रका लागि पनि उपयोगी हुने बताउनुभयो। यस्ता तथ्याङ्कले नयाँ व्यवसाय सञ्चालन गर्न मार्गदर्शन गर्ने उहाँको भनाइ थियो।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक अध्यक्ष विनोद न्यौपानेले सही तथ्याङ्कले सरकारको आर्थिक नीति निर्माण प्रक्रियामा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।
धुलिखेलमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा अग्रणी व्यवसायी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।