२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

काभ्रेमा मनाइयो ३१औं तामाङ भाषा प्रसारण दिवस: पहिचान मजबुत बनाउनुपर्नेमा जोड

नमनखबर डेस्क भदौ ०१, २०८२ ४0२
काभ्रेमा मनाइयो ३१औं तामाङ भाषा प्रसारण दिवस: पहिचान मजबुत बनाउनुपर्नेमा जोड

धुलिखेल । काभ्रेपलाञ्चोकमा ३१औं तामाङ भाषा प्रसारण दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले संविधानले सुनिश्चित गरेका अधिकारलाई सक्दो सदुपयोग गर्दै तामाङ समुदायले आफ्नो पहिचान मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा जिल्लास्तरीय सामाजिक, राजनीतिक र पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका उप-प्रमुख रिम बहादुर तामाङले पछाडि पारिएका समुदायले आफ्नो अधिकार प्रयोग गर्न नहिचकिचाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले संविधानले दिएको अधिकारलाई सदुपयोग गर्न सकेमा मात्र समानता र न्याय सम्भव हुने बताउँदै तामाङ समुदायलाई सचेत र सक्रिय बन्न आग्रह गर्नुभयो ।कार्यक्रमका विशेष अतिथि रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा 'ज्वाला' लगायतका वक्ताहरूले अझै पनि राज्यसत्ताले तामाङ समुदायप्रति दमनकारी नीति नछाडेको टिप्पणी गरे। उनीहरूले भाषिक अधिकार र सांस्कृतिक पहिचानको संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक अध्यक्ष बिनोद कुमार न्यौपानेले काभ्रेमा तामाङ भाषाका कार्यक्रम र समाचार बज्न छाडेको र रेडियो नेपालमा मात्रै खुम्चने हो कि भनी प्रश्न गर्नुभयो । उहाँले तामाङको बाहुल्यता रहेको काभ्रेमा त्यसको प्रभाव कम हुनु दु:खद भएको बताउनु भयो । तामाङ पत्रकार संघकी केन्द्रीय कमिटी सदस्य अन्जली तामाङले कुन समुदायबाट प्रतिनिधित्व गर्नुहुने छ भन्ने जानकारी भाषाबाट थाहा हुने बताउँदै काभ्रेमा रेडियो नमोबुद्दबाट आफुले सञ्चालन गरेको पहिलो तामाङ कार्यक्रम सफल भएको स्मरण गर्नु भएको थियो । आफू अध्यक्ष हुँदा काभ्रेका पत्रकारले दिएको साथ र सहयोगमा खुशी व्यक्त गर्नु भयो । तामाङ पत्रकार संघ बागमती प्रदेश कमिटी सदस्य विकास वाईबाले कला,संस्कृति,परम्पराका बारे जानकारी गराउने संस्था भएको जानकारी दिनु भयो । उहाँले लामो इतिहास बोकेको तामाङ समुदायको वास्तविकता संस्कृति खोतल्दै जान आबाश्यक रहेको प्रष्ट पार्नु भयो ।तामाङ भाषामा पहिलोपटक २०५१ सालमा रेडियो नेपालमार्फत कार्यक्रम प्रसारण सुरु गरिएको थियो । त्यसयता निरन्तरता दिइँदै आए पनि पछिल्ला वर्षहरूमा स्थानीय तहमा यसको उपस्थिति घट्दै गएको उल्लेख गरिएको छ । यसरी भाषाको प्रसारण घट्दै जानु तामाङ समुदायकै पहिचान कमजोर बन्ने संकेत भएको भन्दै चिन्ता व्यक्त गरिएको हो।कार्यक्रममा सहभागी वक्ताहरूले तामाङ भाषा, संस्कृति र परम्परालाई संरक्षण गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्ने जिम्मेवारी समुदायकै काँधमा रहेको निष्कर्ष निकाले। उनीहरूले समुदायकै पहल, पत्रकारिताको निरन्तरता र राज्यसत्ताको नीतिगत सुधारमार्फत मात्र तामाङ भाषा, संस्कृति र पत्रकारिता क्षेत्रको भविष्य उज्ज्वल बन्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक अध्यक्ष नगेन्द्र अधिकारी,  प्रेस चौतारी नेपाल काभ्रेपलाञ्चोक अध्यक्ष केदारनाथ तिमल्सिना, प्रेस सेन्टर नेपाल काभ्रेपलाञ्चोक अध्यक्ष रामप्रसाद ढकाल, समाजवादी प्रेस संगठन नेपाल काभ्रेपलाञ्चोक अध्यक्ष दिनेश राज खरेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।