२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

डिआईजी बडुवामा १६ प्रतिस्पर्धी: भुपेन्द्र खत्री पहिलो नम्बरमा

नमनखबर डेस्क असोज २५, २०८२ १३४
डिआईजी बडुवामा १६ प्रतिस्पर्धी:  भुपेन्द्र खत्री  पहिलो नम्बरमा
काठमाडौं । नेपाल प्रहरीमा हाल खाली रहेका चार र कात्तिक महिनामा खाली हुने एकसहित पाँचजना डीआईजी पदका लागि प्रतिस्पर्धा तीव्र बनेको छ । ११२ औँ टोलीका १५ जना वरिष्ठ अधिकृतहरू र अघिल्लो बढुवाबाट छुटेकी एसएसपी शारदा चौधरीसहित १६ जना अधिकारी बढुवाका उम्मेदवार छन्। बढुवाको प्रक्रिया नजिकिँदै जाँदा संगठनभित्र रस्साकस्सी सुरु भएको छ।
गतपटक चार डीआईजीलाई एआईजीमा बढुवा गर्दा अघिल्लो वरियताको आधारमा निर्णय गरिएको थियो। यसपटक पनि सोही मापदण्ड लागू हुने अनुमान गरिएको छ। तर, अघिल्लो बढुवामा पहिलो वरियतामा रहेका विश्व अधिकारी जेन-जी आन्दोलनका समयमा काठमाडौं प्रहरी परिसर प्रमुख भएकाले अहिले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको अनुसन्धानमा छन्। त्यसैले, उनको बढुवा रोकिएर दोस्रो वरियताका भुपेन्द्रबहादुर खत्रीसहित अन्य चार अधिकारीलाई अवसर मिल्ने सम्भावना प्रबल देखिएको छ।
२०५६ असार ३ गते इन्स्पेक्टरका रूपमा प्रहरी सेवामा प्रवेश गरेका खत्री इमानदार, साहसी र जनमुखी अधिकृतका रूपमा चिनिन्छन्। इन्स्पेक्टरदेखि एसएसपीसम्मको यात्रामा उनले निरन्तर रुपमा जनताको विश्वास जित्ने काम गरेका छन्। एसपी हुँदा उनले चर्चित मोहम्मद अफताब आलम प्रकरणमा दृढ कदम चालेका थिए। आलममाथि २० जनालाई जिउँदै इटाभट्टामा जलाएर मार्ने आरोप थियो। शक्तिकेन्द्रको दबाबका बाबजुद खत्रीले उनलाई पक्राउ गरी अदालतमा पेश गरे र पीडितलाई न्याय दिलाए।
काभ्रे प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा उनले बढ्दो अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरे। “बुद्ध चित्त माला” नामका समूहका नाममा भइरहेका लुटपाट र हिंसात्मक गतिविधि रोक्दै जनतालाई सुरक्षाको भरोसा दिलाए।
एसएसपी बनेपछि उनले काठमाडौं प्रहरी प्रमुखको रूपमा १५ वर्षदेखि फरार माओवादी नेता कालिबहादुर खामलाई पक्राउ गर्न सफल भए। साथै, चारजनाको हत्या गर्ने अपराधीलाई समेत तत्काल पक्राउ गरी कानूनी प्रक्रियामा ल्याए। उनको नेतृत्वमा काठमाडौंमा भएका बल्खु र तिनकुनेका आन्दोलनहरू शान्तिपूर्ण ढङ्गले सम्पन्न भए र कुनै जनहानि हुन दिएनन्।
खत्रीले आफ्नो टोलीको आत्मबल बढाउन विभिन्न मनोबल अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएका छन्। संगठनभित्र उनी व्यावसायिकता, निष्पक्षता र जनउत्तरदायित्वका लागि पहिचान बनाएका अधिकारी हुन्। हाल उनी नेपाल प्रहरी शिक्षालय चितवनका प्रमुख (समादेशक) का रूपमा कार्यरत छन् र संस्थागत सुधारमा सक्रिय छन्।
डीआईजी बढुवाका प्रतिस्पर्धीहरूको सूचीमा विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन्। शारदा चौधरीले हालसालै मिर्गौला प्रत्यारोपण गराएकी भएकाले उनलाई पनि यसपटकको बढुवामा समेटिने बुझिएको छ।
गृह मन्त्रालयले कात्तिक पहिलो साताभित्र पाँच डीआईजीको बढुवा सिफारिस गर्ने तयारी गरेको बताइएको छ। हालसम्मको कार्यसम्पादन, जनसेवामा देखाएको सक्रियता र संगठनप्रतिको निष्ठाका आधारमा भुपेन्द्रबहादुर खत्री बढुवाका सबभन्दा बलियो दाबेदारका रूपमा देखिएका छन् ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।