२०८३-जेष्ठ-०५ मंगलबार

बिहानको ११:२५:२७

धुलिखेल अस्पताल ३० औं वर्षमा प्रवेश, स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढ्दै

नमनखबर डेस्क पुस १३, २०८२ २९१
धुलिखेल अस्पताल ३० औं वर्षमा प्रवेश,
 स्वास्थ्य प्रतिष्ठान र विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढ्दै

धुलिखेल । धुलिखेल अस्पतालले तीन दशकको सेवा यात्रामा प्रवेश गरेको छ। ३० औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा अस्पतालका २९ वर्षका उपलब्धिहरू समेटिएको भिडियो सामग्री प्रस्तुत गरिएको थियो, जसले सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा अस्पतालले पुर्‍याएको योगदानलाई उजागर गर्‍यो।

कार्यक्रममा धुलिखेलका संस्थापक नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेशराज शर्मालाई विशेष अभिनन्दन गरिएको थियो। उनीहरूको दूरदृष्टि र नेतृत्वकै कारण धुलिखेल अस्पताल आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको वक्ताहरूले उल्लेख गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले धुलिखेल अस्पताललाई स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गर्दै विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। अस्पतालमा डाक्टर, नर्सदेखि प्राविधिक जनशक्ति उत्पादन र सहयोग विस्तार गर्ने पहल पनि जारी रहेको उहाँको भनाइ थियो। अन्य अस्पतालको तुलनामा सुलभ दरमा गुणस्तरीय उपचार प्रदान गर्दै आएकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री बाँनियाले मानवताको सिद्धान्तअनुसार सेवा प्रदान गरेर अस्पतालले न्याय गरेको बताउनुभयो।

त्यसैगरी, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले अस्पतालका संस्थापक डा. रामकण्ठ माकजुलाई “सपूत छोरा” भन्दै प्रशंसा गर्नुभयो। उहाँले धुलिखेल अस्पताललाई प्रदेश सरकारको तर्फबाट आवश्यक साथ–सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

धुलिखेल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुले अस्पताल नेपालमै स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी अनुसन्धान गर्ने संस्थामध्ये एक भएको उल्लेख गर्नुभयो। उहाँले बिरामीको सेवा राजनीति, धर्म, जात र संस्कारभन्दा माथि हुने स्पष्ट पार्दै अस्पतालमा न्यूयोर्कदेखि अफ्रिकासम्मका बिरामी उपचारका लागि आउने गरेको जानकारी दिनुभयो, जसले अस्पतालको अन्तर्राष्ट्रिय विश्वास र प्रतिष्ठा पुष्टि गर्छ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष फेलोसिप कार्यक्रम पूरा गरेका स्वास्थ्यकर्मीहरूको सम्मान थियो। औपचारिक रूपमा प्रमाणपत्र प्रदान गर्दै ८ जना मेडिकल र ५ जना नर्सिङ विषयका स्वास्थ्यकर्मीहरूलाई सम्मान गरिएको थियो। मेडिकलतर्फ डा. रमेश राना, डा. श्रष्टि सुब्बा राई, डा. अमन शाह, डा. भरत तिमल्सिना, डा. मिलनकुमार थापा, डा. आकाश अर्याल, डा. सुप्रिया पाण्डे र डा. सागर महर्जन रहेका छन्। नर्सिङतर्फ प्रबिना आचार्य, सुनिता थापा, प्रविणकुमार रावल, रोशन थोकर र श्रेया लोहालालाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व मन्त्री गोकुलप्रसाद बास्कोटा,  अस्पतालका चिकित्सक डा. सुमन राज ताम्राकार,  कर्मचारीहरू, जिल्लास्थित विभिन्न स्थानीय सरकारका प्रमुख र उपप्रमुख, स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तीन दशकको यात्रामा सेवा, शिक्षा र अनुसन्धानलाई समान महत्व दिँदै अघि बढेको धुलिखेल अस्पतालले भविष्यमा पनि समुदाय–केन्द्रित स्वास्थ्य सेवामा उदाहरणीय भूमिका खेल्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।